नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ ।
शनिबार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोेले २०७५ साल जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने, ‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीहरुलाई पूर्ववत अवस्थामा फर्कनको निम्ति निर्देशन दिएको छ अदालतले त्यो अनुसार नै जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन हामीले पार्टी अध्यक्षलाई समेत आह्वान गरेका छौं ।’
बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि नेता भट्टराईले बताए ।
यस्तै बैठकले चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणापत्रलाई पूर्ण रुप दिएको छ । उक्त अवधारणापत्रलाई प्रकाशित गरि पार्टीगत रुपमा देशभर वितरण गरिने नेता भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया