काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
टियु क्रिकेट मैदानमा आइतवार सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित हात पारेको हो ।
एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो ।
सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाईन । यस्तै डोली भट्टले १६ रन जोड्दा रेवती धामीले १२ रन बनाईन ।
सुदूरपश्चिमका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकिनन् ।
एपीएफकी बिनु बुढाले ३ विकेट लिईन । यस्तै सिता राना मगर र सुमन विष्टले २-२ विकेट तथा रेखा रावल र शुष्मा श्रेष्ठले एक एक विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
एपीएफका लागि ज्योति पाण्डेले ५९ रनको अर्शतकीय इनिङ्स खेलिन् ।
यस्तै सरिता मगरले अविजित ३५ रन जोड्दा इन्दु बर्मा ४ रनमा अविजित रहिन् ।
कप्तान सरिता राना मगर १६ रनमा आउट भईन् ।
सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १-१ विकेट लिईन् ।
यस जितसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।
एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई ८ विकेटले हराएको थियो ।
सुदूरपश्चिमको यो पहिलो हार हो । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया