नयाँ सत्ता समीकरण : तानातानमा जसपा, जता फाइदा उतै जाने सुर

लोकपथ
0
Shares

काठमाडौं – राजनीतिक दलहरु अहिले सत्ता समीकरणको जोड घटाउमा लागेका छन् ।

खास गरी गत फागुन २३ को सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा (२०७५ जेठ २ अघिकै ) फर्काएपछि संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सत्ता समीकरणको खेल भइरहेको हो ।

तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी ) लाई सर्वाेच्चले पूर्ववत् अवस्थामा फर्किनुपर्ने बनाएपछि अहिले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा माओवादीको समर्थनको सरकार छ ।

ओलीको विकल्पमा सरकार बन्ने स्थिति अझै स्पष्ट नभएका कारण माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । ओलीको विकल्पमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपाको )सरकार बन्न सक्ने अवस्था छ । तर अझै पनि जसपाले आफ्नो धारणा स्पष्ट पार्न सकेको छैन । जसपा स्पष्ट नहुँदा सत्ता समीकरणको अन्यौलता तत्काल चिरिन सक्ने अवस्था देखिएको छैन । गत शुक्रबारको कांग्रेसको निर्णयले भने माओवादी उत्साहित भएको छ । तर सत्ताको साँचो बोकेको जसपाको धारणा भने स्पष्ट रुपमा आएको छैन । जसपालाई फकाउन प्रधानमन्त्री ओली पनि लागि परेका छन् भने माओवादी केन्द्रले त जसपासँग वार्ता गर्न आफ्नो आइतबारको स्थायी कमिटी बैठक समेत स्थगित गर्‍यो। प्रधानमन्त्री ओली र विपक्षीदलहरु सत्ता समीकरणका लागि आ–आफ्नै रणनीतिका साथ अघि बढेका छन् ।
कांग्रेसको निर्णयले माओवादीमा उत्साह
गत हप्ताको मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर ओली नेतृत्वको सरकारका विषयमा आफ्नो धारण स्पष्ट पार्न आग्रह गरेका थिए । माओवादीले दवाब दिएपछि शुक्रवार कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र सरकारको नेतृत्व लिनका लागि पहल गर्ने निर्णय गर्‍यो । जसले माओवादी केन्द्र उत्साहित भएको छ । माओवादीलाई ओलीलाई सत्ताबाट ओराल्न जति हतार छ उति कांग्रेस र जसपालाई छैन । माओवादी ओलीप्रति निकै रुष्ट छ ।

माओवादीले अवस्था हेरेर मात्रै समर्थन फिर्ता लिने
माओवादीले ओलीको बिकल्पमा कांग्रेस र जसपासँग मिलेर सरकार बन्ने स्पष्ट भएपछि मात्रै ओलीलाई दिएको समर्थन फिर्ता लिने रणनीति तय गरेको छ ।

ओलीलाई हटाएर अर्काे सरकार बन्ने अवस्था पक्का नहुँदा ओलीले फेरि प्रतिनिधि सभा बिघटन गर्छन कि भन्ने भय माओवादीमा छ । ओलीले माओवादीसँग समर्थन किन फिर्ता नलिएको भनेर बारम्बार प्रश्न गर्दा समेत माओवादीले समर्थन फिर्ता लिन सकेको छैन ।

कांग्रेस साच्चिकै सरकार बनाउने तरखरमा हो त ?
कतिपयले कांग्रेसले सरकारको नेतृत्व लिने र प्रधानमन्त्रीको राजीनामा माग गर्ने विषय देखावटी को कि भनेर आशंका गरेका छन् । एक कांग्रेस नेताका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल,गगन थापा,कृष्णप्रसाद सिटौला लगायतका नेताको दवाबमा प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय केन्द्रीय समिति बैठकबाट गराएका हुन् उनी अझै पनि ओलीप्रति नरम छन । देउवाले ओलीसंग साँठगाँठ गरेर ओलीको सरकारलाई लम्व्याउन खोजेका कतिपय कांग्रेस नेताहरु नै बताउँछन ।

जसपाप्रति पनि अविश्वास
कांग्रेस र माओवादी जसपाप्रति त्यति विश्वस्त हुन सकेका छैनन् । जसपामा पनि पूर्व राजपा पक्ष प्रधानमन्त्री ओलीसंग सत्तामा जाने विषयमा छलफल गरिरहेको छ भने पूर्व समाजवादी पार्टी ओलीसंग सत्तामा जान हुँदैन भन्नेमा छ । पूर्व राजपाले ज्यान मुद्दाका दोषी सांसद रेशम चौधरीलाई जेलबाट रिहाइ गर्नुपर्ने माग अघि सारेको छ । तर रेशमको रिहाइ त्यति सहज नभएको कानूनविदहरु बताउँछन् । उसले सत्तामा जान रेशमलाई भ-याङको रुपमा मात्रै प्रयोग गर्न खोजेको कतिपयको बुझाई छ ।

प्रधानमन्त्री ओलीको रणनीति
प्रधानमन्त्री ओली भरसक कांग्रेस,माओवादी र जसपाको सरकार बन्न नदिने योजनामा छन् । गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीले उक्त कदम सही थियो भन्ने पुष्टि गर्न खोजेका छन् ।

सर्वाेच्चले गत फागुन ११ गते प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै संसद पुःन स्थापना गरेको थियो । पुनः स्थापना पछि सरकारले संसदलाइ बिनेश समेत दिन सकेको छैन । ओली फेरि पनि विपक्षी गठवन्धनलाई रोकेर संसद विघटन गर्ने पक्षमा छन् । उनले यो आशय पटक–पटक व्यक्त गरिसकेका छन्। आन्तरिक र बाह्य शक्तिकेन्द्र समेत आफ्नो स्वार्थ पूरा गर्न ओली सरकार अझै लम्बिनुपर्छ भन्नेमा रहेका एक राजनीतिक विश्लेषक बताउँछन् । अर्काेतर्फ पार्टी भित्रको आन्तरिक कलहका कारण पनि ओली सत्तामै ररिहन चाहन्छन् । जसले सत्ता र शक्तिको बलमा आफ्नै पार्टी भित्रका बिरोधी नेताहरुलाई तह लगाउन सकियोस भन्ने ओलीको बुझाई छ । ओली भरिसक्य सिंगो जसपा नभए जसपामा पनि पूर्व राजपा पक्षका नेता महन्थ ठाकुरलाई आइपरेको खण्डमा प्रधानमन्त्री पद दिनेसम्ममा पुग्ने कतिपयको अनुमान छ । त्यसकारण पनि जसपा प्रधानमन्त्री ओली र कांग्रेस माओवादीको तानातानमा रहेको छ । उ बार्गेनिङ गरेर आफूलाइ जता फाइदा हुन्छ उतै जाने दाउमा छ । जसपा आउने विश्वासमा ओलीले माओवादीलाई समर्थन फिर्ता लेउ भनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?