बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । गैंडा गणनामा खटिएका एक कर्मचारीको आइतवार हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हात्तीका लागि घाँस काट्दै गर्दा बाघको आक्रमणमा परी ठाकुरबाबा–९ का ३१ वर्षीय हात्तीसारका पछुवा पुलिसराम थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बिहान ६ देखि १२ बजेसम्म बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा मचानतर्फ सहकर्मी अन्जय चौधरीसँगै हात्ती चढेर गैंडा गणनामा संलग्न थिए । दिउँसो निकुञ्ज मुख्यालय नजिकको हात्तीसारमा खाना खाएर दुवै पुनः वनभित्र पसेका थिए ।

गर्मी निकै भएका कारण चौधरी हात्तीलाई नुहाउन खोलामा पसे । पुलिसराम केही पर गैंडा मचान क्षेत्रमा उक्त हात्तीका लागि घाँस काट्न थाले । त्यही बेला उनलाई एक्कासि बाघले आक्रमण गरेको हो । सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार साँझ करिब ५ बजे घटना भएको हो ।

बाघ र पुलिसराम कराएको सुनेर चौधरी घटनास्थल पुगे । बाघले पुलिसरामलाई लतारेर कुदायो । एक्लै परेका चौधरी आत्तिए । रूख चढेर मोबाइलको नेटवर्क खोजे । निकुञ्ज मुख्यालयदेखि ७ किलोमिटर उत्तर–पश्चिममा पर्ने घटनास्थलबाट उनले नेटवर्क टिपेपछि फोन गरे ।

चौधरीको फोन आएपछि निकुञ्जको टोली र सेना तत्काल घटनास्थल पुगेर पुलिसरामको शव खोजी गरेको हो,’ सहायक संरक्षण अधिकृत थापाले भने, ‘शव बेलुकी ८ बजे भेटियो, निकुञ्ज मुख्यालय ठाकुरद्धारा ल्याइएको छ । हामी कसैले सोच्दै नसोचेको घटना भयो, सबै स्तब्ध छौं ।

जिल्ला अस्पताल गुलरियामा पोस्टमार्टमपछि शव अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइने भएको छ । निकुञ्ज नजिकको गाउँमा जन्मे–हुर्केका उनी नौ वर्षदेखि हात्तीसारमा कार्यरत थिए । बाघको आतंकबाट परिचित उनी अरूलाई सतर्क रहन सल्लाह दिन्थे ।

आइतवारको घटनापछि राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक टोली र निकुञ्जको कर्मचारीले बेलुकी ८ बजे उक्त क्षेत्रबाट एउटा बाघलाई नियन्त्रणमा लिएका छन् ।

पुलिसरामलाई आक्रमण गर्ने नै हुन सक्ने शंकामा डार्ट गरी बेहोस पारेर नियन्त्रणमा लिइएको बाघ करिब १० वर्ष उमेरको भाले हो । उक्त बाघलाई पनि बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारा ल्याइने प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए ।

दुई वर्षमा २० जना मारिए

गत फागुन २६ मा मधुवन–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेको थियो । त्यसको साता दिन नबित्दै बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा एक महिलालाई बाघले आक्रमण गरी मारेको थियो । निउरो टिप्न गएका चार महिलामध्ये ठाकुरबाबा–७ मोहनापुरकी ६२ वर्षीया डल्ली रावत बाघको आक्रमणमा मारिएकी थिइन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?