काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणका विषयमा अझै आफ्नो धारणा स्पष्ट पार्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गत शुक्रबार बसेकोे केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ । तर जसपा भने अझै अनिर्णित छ । गत फागुन २३ को सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि दलहरु सत्ता समीकरणको कसरतमा लागेका हुन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् । ओलीको विकल्पमा अर्काे सरकार बन्ने अवस्था हाल सम्म नदेखिँदा उसले समर्थन फिर्ता लिन सकेको छैन । माओवादी ओलीलाई सत्ताबाट चाँडो ओराल्नुपर्छ भन्नेमा छ । एमालेले माओवादी नेतृत्वमा बनेको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपनि माओवादीले भने केन्द्रमा ओलीलाइ दिएको समर्थन फिर्ता लिन सकेको छैन । कारण जसपाले के गर्छ भन्ने नै हो । किनकि समर्थन फिर्ता लिने बित्तिकै फेरि ओलीले प्रतिनिधि सभा विघटन गर्छनकि भन्ने डर माओवादीको छ । फागुन २३ यता संसदमा कुनै पनि दलको बहुमत छैन । तत्कालिन नेकपा, एमाले र माओवादी केन्द्रका रुपमा पहिलाकै अवस्थामा फर्किएपछि कुनै दलको पनि बहुमत छैन । ठूलो दलका रुपमा भने नेकपा एमाले रहेको छ । त्यसकारण पनि राजनीतिक दलहरु १ महिना यता सत्ता फेरबदलको कसरतमा लागेका हुन् । यसै अवस्थामा जसपा प्रधानमन्त्री ओली वा कांग्रेस र माओवादी केन्द्रसँग मिल्ने भन्ने दोधारमा रहेको छ ।
जोखना हेर्दे जसपा
ओलीको विकल्पमा सरकार बनाउने विषयमा नेपाली कांग्रेस अघि बढेपनि जसपा अझै अनिर्णित भएको छ । कांग्रेस र माओवादीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई फकाउने प्रयास गरिरहेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार ठाकुरलाइ भेटेर फकाउने कोशिस गरेका छन् । किनकि जसपामा अहिले पूर्व राजपा (राष्ट्रिय जनता पार्टी) खेमा प्रधानमन्त्री ओलीको नजिक रहेको छ । त्यसमा ठाकुर र राजेन्द्र महतो पक्षधर नेता छन् । त्यसैगरी अर्काे खेमामा पूर्व समाजवादी पार्टी पक्षधर नेताहरु छन् । जसमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव छन् । पूर्व समाजवादी खेमा ओलीसँग कुनै पनि हालतमा सत्ता समीकरण गर्नुहुदैन भन्नेमा छ। सत्ताको साँचो अहिले जसपाको हातमा छ । ओलीलाई जोगाइराख्न र कांग्रेस माओवादीको सरकार बनाउन पनि जसपा नै निर्णायक बनेको छ । दुवै पक्ष फकाउन लाग्दा जसपाले प्रधानमन्त्रीमा समेत दावी गर्न थालेको छ । । यद्यपि मिलेर जाने भनेको अवस्थामा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेकोमा भने ठाकुरको चित्त दुखाइ रहेको एक जसपा नेताको भनाई छ । तर त्यसो भन्दैमा तत्काल ओलीसँग मिलिहाल्ने भन्ने होइन ती नेता भन्छन् ।
संसदको अंकगणित
प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन कांग्रेसलाई माओवादी केन्द्र र जसपाको समर्थन चाहिन्छ। संसदमा बहुमत पुर्याउन १३८ सांसद आवश्यक पर्छ । यी तीन दल मिले बहुमत पुग्छ। प्रतिनिधि सभामा अहिलेको गणितमा एमालेका १ सय २१ कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (५ जना एमालेतिर लागेका), जनता समाजवादी पार्टी (जसपा) का ३४ (दुई जना निलम्बित), राप्रपाका एक,जनमोर्चाका एक र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद रहेका छन् । ओली पनि भरिसक्य विपक्षीलाई रोकेर सरकार बन्न नदिने योजनामा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया