प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेका छन् ।
नास्टको ४४औँ प्राज्ञसभालाई आज प्रधानमन्त्री निवास वालुवाटारमा सम्बोधन गर्दै उनले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरे ।
अहिलेसम्म हाम्रो गति उत्साहहीन, सङ्कल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीको भनाइ रहेको छ । “सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो”, उनको भनाइ थियो ।
करिब १११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत् गृह बनाउने देश अहिले पछाडि परेको भन्दै उनले वैज्ञानिकलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गरे । सभालाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया