काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित शहर हुन पुगेको छ । केही दिन कम भएको नेपालको वायु प्रदूषण बढे्सँगै घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखिन थालेका छन् ।
वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत हप्ताकै अवस्थामा नपुगे पनि सोमवारदेखि बढेको छ । उनले भने अझ बढ्दै गएमा सवारीसाधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।
देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनले बताए ।जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उनले सुनाए । वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ ।
विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रा समेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिए तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौं शहर पहिलो नम्बरमा छ ।
वायु प्रदूषणको गुणस्तरको सूचक २५१ नम्बरका साथ काठमाडौं पहिलो नम्बरमा छ । यो मानवका लागि अति अस्वस्थकर वायुको गुणस्तर हो । काठमाडौंपछि अहिले विश्वमा म्यान्मारको यांगुन, थाइल्यान्डको छियाङ माई, दक्षिण अफ्रिकाको जोहानेसवर्ग र पाँचौं नम्बरमा भारतको मुम्बई छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया