पुनर्कर्जाले सहज बन्दै निक्षेप : हट्ला त तरलताको समस्या ?

कमला अर्याल /काठमाडौं – पछिल्लो समय बैंकहरुको निक्षेप क्रमिक रुपमा बढ्दै गइरहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बजारमा पुनर्कर्जाको रकम पठाएपछि बैंकहरुको निक्षेप विस्तारै बढ्न थालेको हो । राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायलाई राहत दिन उपलब्ध गराएको पुनर्कर्जा बापतको रकम बजारमा पुगेपछि बैंकहरुको निक्षेपमा सुधार आएको हो ।

राष्ट्र बैंकले १ खर्ब २५ अर्ब ४३ करोड रुपैँया पुनर्कर्जा स्वीकृत गरिसकेको छ। सो रकम बजारमा गएपछि बजारमा तरलता अझै सहज हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुले पछिल्लो एक सातामै ४० अर्ब रुपैयाँ निक्षेप बढेको देखिएको छ । गत फागुनदेखि सुरु भएको ‘कोभिड – १९’ को संक्रमणका कारण लकडाउन हुँदा बैंकहरुको लगानी ठप्प भएको थियो । जतिबेला बैंकिङ प्रणालीमा २ सय खर्ब रुपैँया बराबरको तरलता (लगानी योग्य रकम) थुप्रिएको थियो । पछि अवस्था विस्तारै सुधार हुँदै गएपछि बैंकको लगानी पनि बढ्दै गयो। पछिल्ला केही महिनाहरुमा त बैंकको लगानी आक्रमक रुपमा विस्तार भयो । जुन लगानीलाई राष्ट्र बैंकले अस्वभाविक विस्तार समेत भनेको थियो । बैंकहरुले आक्रामक लगानी विस्तार गर्न थालेपछि प्रणालीमा तरलताको समस्या हुन थालिसकेको थियो । तर राष्ट्र बैंकले पुर्नकर्जा निकासा गर्न थालेपछि तरलताको समस्या समेत कम हुँदै गइरहेको छ।

यसअघि टाइट भएको तरलता चैतको तेस्रो सातासम्म आइपुग्दा केही सहज बन्न थालेको हो । पछिल्लो समय कर्जाको माग तिव्र बनेसँगै बैंकहरुले छानी छानी कर्जा दिन थालेका थिए भने तरलता कम हुँदै गएपछि निक्षेप संकलन गर्न आक्रामक रुपमा लागेका थिए ।

बैंकहरुले चैत महिनाको तेस्रो सातासम्म आईपुग्दा ४० अर्ब रुपैँया निक्षेप संकलन गरेका थिए । जबकी फागुन महिनाभरीमा बैंकहरुले ४० अर्ब निक्षेप संकलन गरेका थिए । चैतको तेस्रो सातासम्म बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको संघको तथ्यांकले देखाएको छ।

बैंकहरुले चैत्र १३ गतेसम्म २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । चैत महिनाको तेस्रो साता (चैत २० गते) सम्ममा बैंकहरुले ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस अवधीसम्म बैंकहरुले कुल ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधीमा बैंकहरुको लगानी ३५ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।

कोरोनाको संक्रमण कम हुँदै गएपछि विभिन्न औद्योगिक तथा अन्य क्षेत्रबाट आयातमा वृद्धि भएसँगै बैंकमा कर्जाको माग उच्च रहेको छ । जसका कारण बैंकहरुले अन्तर बैंक कर्जा लिने क्रम बढेको थियो भने यस्तो ब्याजदर बढेर ४ प्रतिशत भन्दा माथि पुगेको थियो । बजारमा तरलता सहज भएसँगै अन्तर बैंक ब्याजदर समेत घटेर ०.४३ सम्म झरेको थियो । सोमवार भने अन्तर बैंक ब्याजदर केही मात्रामा बढेको छ । राष्ट्र बैंकका अनुसार सोमवारसम्म अन्तरबैंक ब्याजदर १.३६ प्रतिशत छ।

अब बजारमा तरलतको समस्या नपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले राष्ट्र बैंकले बजारमा पुर्नकर्जा पठाएकाले तरलता समस्या नहुने बताए । ‘हामीले बजारमा पुर्नकर्जा पठाएका छौँ,तत्काल तरलताको समस्या हुँदैन ।’ उनले भने ।

प्रणालीमा अहिले ५३ अर्ब रुपैँया तरलता छ । बजारमा तरलताको समस्या आउन नदिन राष्ट्र बैंकले विभिन्न औजारको प्रयोग गरेर तरलता प्रवाह गर्ने सहप्रवक्ता पोखरेलले बताए । ‘राष्ट्र बैंकले तरलताको समस्या आउनै दिँदैन,ढुक्क भए हुन्छ ।’ पोखरेलले भने । तर सरकारी खर्च बढ्न नसके तरलताको समस्या बढ्न सक्ने अनुमान गरिएको छ ।

अहिले तत्काल पुनर्ककर्जाले तरलता सहज बनाए पनि लामो समसम्म पुर्नकर्जाले नथेग्ने भएकाले सरकारले खर्च गर्नु अनिवार्य छ । किनकी राष्ट्र बैंकले दिने पुर्नकर्जा राहतका लागि दिने भएकाले क्षणिक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?