चार जना मन्त्रीको सांसद पद खारेज

लोकपथ
0
Shares

काठमाडौं । माओवादी केन्द्रले केपी शर्मा ओली सरकारमा सहभागी चार मन्त्रीले दल त्यागेकाले प्रतिनिधिसभाको सांसद पदबाट हटाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेको छ ।

संसदीय दलका नेता पुष्पकमल दाहालले अर्घाखाँची–१ का टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले अब राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअन्तर्गत प्रक्रिया अघि बढाउन भन्दै संसद् चिवालयलाई पत्राचार गरेका हुन् ।

अध्यक्ष दाहालले संसदीय दलका तर्फबाट संघीय संसद्का महासचिवलाई लेखेको पत्र प्रमुख सचेतक देव गुरुङले मंगलवार दिउँसो संसद् सचिवालयमा बुझाएका थिए ।

रायमाझी ऊर्जा, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । उनीहरू चारै जना निर्वाचित सांसद हुन् ।

माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाहीको प्रक्रिया अघि बढाएको छ तर उनलाई सांसदबाट हटाउनेसम्बन्धी पत्र पठाइसकेको छैन । थापा राष्ट्रिय सभा सदस्य भएकाले उनको सम्बन्धमा छुट्टै पत्र पठाउने माओवादी नेताहरूले जनाएको छ ।

हाल ओली सरकारमा माओवादी केन्द्रको पृष्ठभूमिका सात नेता मन्त्री छन् । तीमध्ये खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा लामा सांसद होइनन् । मन्त्री भएकासहित माओवादी केन्द्रबाट गएका २३ नेतालाई एमालेको केपी ओली समूह पक्षधर केन्द्रीय कमिटीको फागुन २८ को बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरिसकेको छ ।एमाले प्रवेश गरेका उनीहरूले कमिटीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

माओवादी केन्द्रबाट यो सूचना दर्ता भइसकेपछि अब संसद् सचिवालयले त्यस्तो सूचना सम्बन्धित सभामुखसमक्ष पेस गर्नुपर्नेछ । मंगलवार सूचना दर्ता भएकाले अब यसको जानकारी सभामुखले १५ दिनभित्र प्रतिनिधिसभालाई दिनुपर्ने छ ।

प्रतिनिधिसभामा दल त्यागका बारेमा सभामुखले जानकारी गराएपछि औपचारिक रूपमा सांसद पद रिक्त हुन्छ । सांसद पद रिक्त भएपछि संसद् सचिवालयले १५ दिनभित्र निर्वाचन आयोगलाई जानकारी गराउनुपर्छ । निर्वाचित सांसदको पद रिक्त भएमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने प्रावधान छ ।

माओवादी केन्द्रले नेकपाको एकीकरण खारेज भएपछि आफ्नो पार्टीको पक्षमा उभिने सबै निर्वाचित प्रतिनिधिहरूलाई पार्टीमा फर्कन निर्देशन दिएको थियो । निर्देशन नमान्नेलाई प्रक्रिया पुर्‍याउँदै पार्टी कमिटी र निर्वाचित पदबाट भटाभट कारवाही गरिरहेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?