सांसद पद गएका ४ जनाको मन्त्री पद पनि नरहने

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाका ४ सांसदको पद रिक्त भएको छ ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ जना सांसदहरुको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रुपमा बिहीवारदेखि ४ जना सांसदको पद रिक्त भएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसदहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशंकर चौधरी सांसद पदबाट मुक्त भएका हुन् ।

प्रत्यक्ष निर्वाचित सांसदहरुको पद रिक्त भएको अवस्थामा उपनिर्वाचन गराउनुपर्ने संबैधानिक व्यवस्था छ । संघीय संसद सचिवालयले सांसद पद रिक्त रहेकोबारे प्रधानमन्त्रीको कार्यालय र निर्वाचन आयोगलाई पत्राचार मार्फत जानकारी गराउने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

उनले भने “आज प्रतिनिधिसभाको बैठकबाट प्रतिनिधिसभामा बहाल रहेका चार जना सदस्यहरुको पद रिक्त भएको सूचना जारी भएको छ । यो सूचनासँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने चारजना सदस्यहरुको पद रिक्त भएको छ । यस सम्बन्धमा यो पद रिक्त भएको सूचना निर्वाचन आयोगलाई सचिवालयले लेखेर उपलब्ध गराउँछ, पठाउँछ । यसैगरी मन्त्रिपरिषद्लाई पनि जानकारी गराउँछ र त्यसपछि प्रतिनिधि सभाको कार्यकाल ६ महिना भन्दा बढी भएको अवस्थामा उपनिर्वाचनबाट त्यस्तो पदपूर्ति गर्ने भन्ने व्यवस्था छ र प्रतिनिधि सभाको अहिले ६ महिना भन्दा बढी कार्यकाल रहेको छ । त्यसैले यि रिक्त रहेका चार जना सदस्यहरुको पद उपनिर्वाचन मार्फत पूर्ति हुने व्यवस्था छ । यसको सम्बन्धमा निर्वाचन आयोगले मिति निर्धारण गर्छ र त्यो मितिमा उप–निर्वाचन हुन्छ र त्यो उप–निर्वाचन मार्फत नै ति पदहरु पूर्ति हुने व्यवस्था छ । ”

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार सांसद नभएको व्यक्ति मन्त्रीपदमा बसिरहन मिल्दैन । उनीहरुलाई मन्त्रीपदमा ६ महिनासम्म राखिरहन पुनर्नियुक्ति गर्नु पर्छ र त्यसरी मन्त्री रहिरहँदा मन्त्री भएको व्यक्तिले ६ महिना भित्र प्रतिनिधी सभा वा राष्ट्रिय सभाको सदस्यता प्राप्त गर्नु पर्ने छ ।

अधिवक्ता त्रिपाठीका अनुसार सांसद नभएको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु संविधानको भावना र मर्म विपरित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?