काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहयोगका रूपमा नेपालले सहयोग प्राप्त गरेको देखिएको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘विकास साझेदारी प्रतिवेदन–२०२०’ अनुसार गत आवमा २ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त भएको थियो जुन अघिल्लो आवको भन्दा २१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५७ करोड डलर वैदेशिक विकास सहायता आएको थियो ।
नेपाललाई प्राप्त हुने वैदेशिक सहायतामा ठूलो दातृ निकायका रूपमा एडीबी (एसियाली विकास बैंक) देखिएको छ । नेपालले पाएको कुल २ अर्ब ३० लाख अमेरिकी डलरबराबरको वैदेशिक सहायता रकममा एडीबीको ३१ प्रतिशत हिस्सा छ ।
अर्थमन्त्रालयका अनुसार नेपाललाई प्राप्त सहयोगमध्ये विश्व बैंकको २३ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ११ प्रतिशत, संयुक्त राज्य अमेरिकाको ६ प्रतिशत र चीन, भारत तथा बेलायतको समान ५/५ प्रतिशत योगदान छ ।
नेपाललाई प्राप्त सहयोगमध्ये एडीबीसँग ५७ करोड २० लाख, विश्व बैंकसँग ४३ करोड र आईएमएफसँग २१ करोड ४० लाख अमेरिकी डलर ऋण रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै ३१ करोड ८० लाख अमेरिकी डलर, सडक पूर्वाधारका क्षेत्रमा १३ करोड ९० लाख, आर्थिक पुनरुत्थानका कार्यक्रममा २१ करोड ८० लाख, आवासका क्षेत्रमा १५ करोड ३० लाख, ऊर्जाका क्षेत्रमा १४ करोड ३० लाख, शिक्षाका क्षेत्रमा १३ करोड ३० लाख अमेरिकी डलर सहयोग प्राप्त भएको छ ।
नेपाललाई प्राप्त वैदेशिक सहायतामध्ये २५.६ प्रतिशत कोभिड–१९ रोकथाम तथा पुनरुत्थानमा प्रवाह भएको छ । अर्थ मन्त्रालयका अनुसार ५१ करोड २९ लाख अमेरिकी डलर कोभिड–१९ रेस्पोन्सका नाममा खर्च भएको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया