जेठभित्र विद्यालय तहका सबै परीक्षा सक्ने सरकारको तयारी

लोकपथ
0
Shares

काठमाडौं । छिमेकी मुलुक भारतमा दिनप्रति दिन कोरोना संक्रमण बढ्दै गएको छ । तर नेपाल सरकारले भने कोरोना जोखिमकाबीच पनि जेठ महिना भित्र विद्यालय तहको परीक्षा सक्ने गरि तयारी थालेको छ ।

कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्य तालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव एवं प्रवक्ता दिपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।

कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुन सक्ने सम्भावनासमेत रहेको भन्दै उनले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिए ।

यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमनसमेत गर्नुपर्ने उनको भनाइ छ । सोमवार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताएका थिए ।

स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनीसमेत उनले दिएका थिए । यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै कक्षा १० र १२ को परीक्षाको तयारी अघि बढेको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । यसका साथै जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?