काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकसँग समन्वय गरि नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी आज (शुक्रवार) देखि सञ्चालनमा ल्याएको छ ।
नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरे ।
ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइदै आएका छौं । प्रविधिमार्फत् ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुने एसएसपी भट्टराईले बताए ।
उनले भने,’हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्न प्रयासरत छौ, यसको लागी सरकारी निकायका साथै बैंक बित्तिय संघसंस्थाहरु सँग समन्वय एव सहकार्यलाई निरन्तरता दिदै बिभिन्न चोकहरुमा एक पछि अर्को ट्राफिक लाईट जडान भैरहेका छन, त्यसैको परिणाम स्वरुप राष्ट्रिय बाणिज्य बैंकको सहयोगमा आजदेखि नागस्थानमा लाईट जडान संचालनमा ल्याउन सफल भएको छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु भैरहेको बताए । महाशाखाको समन्वयमा लामो समयसम्म प्रत्यक्ष लाभ हुने र दैनिक सडक व्यवस्थापनमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए ।
श्रेष्ठले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने र सहकार्यको लागी सदैव तत्पर रहेको धारणा समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै का.म.न.पा. वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जनले पछिल्ला दिनहरुमा महाशाखाले विभिन्न निकायहरुसँग सहकार्य गरि चोक चोकमा ट्राफिक लाईट जडान गरि प्रबिधीको प्रयोगलाई महत्व दिइ विभिन्न समस्याहरुका बाबजुद सडक प्रयोगकर्ताको सेवा सुबिधामा अहोरात्र खटिदै आएकोमा बिशेष धन्यवाद दिएका छन् ।
अध्यक्ष महर्जनले ट्राफिक प्रहरीका पछिल्ला गतिविधि एवं कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा खेलेको महत्वपुर्ण भुमिकाको समेत प्रशंसा गरे ।
उद्घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका पदाधिकारी, वडा अध्यक्ष र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
आजदेखी संचालनमा आएको ट्राफिक लाईट समेत गरि उपत्यकाको मुख्य मुख्य ३२ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन हुने जनाइएको छ ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एवं सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया