संसदमा कुरा उठेको सिक्टा सिँचाई आयोजना : कति बन्यो, कति बाँकी ?

कमला अर्याल/ काठमाडौं । सिक्टा सिँचाई आयोजना बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो ।

यस आयोजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५२ करोड विनियोजन भएको थियो । जसमा १ अर्ब ५ करोड रुपैँया खर्च भएको छ । यस अवधीमा आयोजनाको भौतिक प्रगति ७५.८६ प्रतिशत भएको छ । वित्तीय प्रगति भने ६९.२७ प्रतिशत भएको आयोजनाको वित्तीय प्रगति भएको देखिएको छ। हालसम्मको समष्टिगत भौतिक प्रगति भने ६३ प्रतिशत भएको छ । त्यस्तै,आयोजनाको हालसम्मको समष्टिगत वित्तीय प्रगति ६६.७० प्रतिशत भएको देखिएको छ। यस आयोजनाको आव २०६३/६४ को गुरू योजना अनुसार लागत अनुमान १२ अर्ब ८० करोड रहेको थियो । आ.व २०७१/७२ मा गुरू योजना संशोधनसँगै संशोधित लागत अनुमान २५ अर्ब २ करोड रहेको छ ।

यस्तो छ हालसम्मको प्रगति/उपलब्धि

यस आयोजना अन्र्तगत राप्ती नदीमा पुलसमेतको बाँध निर्माण भएको छ। त्यस्तै,पश्चिमतर्फ ४५.२५ कि.मि. मूल नहर र सर्भिस सडक निर्माण भएको भएको छ । त्यस्तै सिञ्चीत क्षेत्र संरक्षणका लागि नदी नियन्त्रणका कामहरु भएका छन् । त्यस्तै ५३ किमि लामो नयाँ पूर्वी मूल नहर निर्माण शुरु भएको छ । सिधनिया शाखाको निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ भने ४५ कि.मि.ग्राभेल सर्भिस रोड निर्माण भएको छ ।

त्यस्तै, ३० लाख श्रमदिन (वार्षिक करिब ३ लाख) रोजगारी सिर्जना भएको,पूर्वी मूल नहरमा १८ कि.मि. माटोको काम र २६ वटा संरचना निर्माण भएका छन् भने ४५ कि.मि. रुख कटान भएको (तर ४५ कि.मि.रेखाङ्कन र शाखामा विवाद आएको) छ । त्यस्तै,पूर्वी मूल नहरको करिब ५० प्रतिशत कार्य सम्पन्न भएको छ भने साथै पश्चिम तथा पूर्व गरी करिब ७००० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको आर्थिक वर्ष २०७६/७७ को प्रगति विवरणमा उल्लेख छ ।

यस आयोजनाका मुख्य समस्या एवम् चुनौतीहरु

गुरूयोजना संशोधनका कारण आयोजनाको स्कोप वृद्धि भएकाले निर्माण लागत र समय वृद्धि हुँदै गएको छ । त्यसका साथै यस आयोजनाका लागि प्राविधिक जनशक्तिको कमी भएको आयोजनाले देखाएको छ । त्यस्तै, यस आयोजनाको काम सम्मन्न गर्न ठेक्का व्यवस्थापनमा कठिनाइ, पर्याप्त बजेट विनियोजन नहुनु,अदालतमा गएका विषयहरु टुङ्गो नलाग्नु लगायतको चुनौती देखिएका छन् । यस्तै,नदीजन्य सामग्री निकाल्न नपाउँदा नहर पुरिएर पानीको सतहमाथि आउनु, वन क्षेत्र तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा बन्देज लगाएको, स्थानीयले समयसमयमा आयोजनासँग असम्बन्धित (बाटाघाटा ग्राभेल गरीदिनुपर्ने, कल्भर्ट बनाइदिनुपर्ने आदि जस्ता) माग राखी अवरोध खडा गर्ने गरेको तर सामाजिक सरोकारका विषयहरुको सम्बोधन नहुनु, आयोजनाको नहर क्षेत्रभित्र पर्ने जग्गा, घरटहरा आदिको मुआब्जा र क्षतिपूर्ति सम्बन्धमा समस्या,मुआब्जा वितरण कार्यमा विवाद हुनु, पश्चिम मूल नहरको चेनेज १७,७०० देखि ३५,००० सम्मको ठेक्कामा २०,००० देखि २६,००० सम्म माटोघुलनशील प्रकृतिको देखिएको र नहर सञ्चालन गर्दा नहर भत्किने गरेकोले पश्चिम मूल नहर सञ्चालनमा र ड्रेनेज व्यवस्थापनमा समस्या देखिएको लगायतका समस्या देखिएका छन् ।

यस्तो आयोजनाको लक्ष्य

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी राप्ती पश्चिम दायाँतर्फ ३३७६६ हेक्टर एवम् राप्ती पूर्व बायाँतर्फ ९००० हेक्टर गरी कुल ४२७६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने यस आयोजनाको लक्ष्य रहेको छ ।

आयोजनाको समायावधि

यो आयोजना औपचारिक रुपमा आ.व. २०६१/६२ मा शुरु भई आ.व. २०७१/७२ मा सम्पन्न हुने लक्ष्य राखिएको थियो । तर सो अवधिमा सम्पन्न हुन नसकेको हुँदा आ.व. २०७७/७८ मा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

यस आयोजनाको सुरुवात र संभाव्यता अध्ययन

सिक्टा सिचाँई आयोजना राष्ट्रिय गौरभको आयोजनामध्येको पहिलो आयोजना हो । सन् १९७५/७६ मा पूर्व सम्भाव्यता अध्ययन, सन् १९८० जर्मन परामर्शदातृ संस्था (ला- हेमियर इन्टरनेशनल जीएमविएच)  बाट आयोजनाको पहिलो सम्भाव्यता अध्ययन र सन् १९८१/८३ सालमा (डिपार्टमेन्ट अफ इरिगेशन हाइड्रोलोजी एण्ड मेटेरोलोजी) बाट विस्तृत सम्भाव्यता अध्ययन भएको थियो । त्यसपछि निर्माण शुरु भएको यो आयोजनाको प्रारम्भमा दातृ निकायहरुबाट आर्थिक सहयोग जुट्न नसकेकाले निर्माण कार्य पूर्ण गतिमा अगाडि बढ्न सकेको थिएन । सन् २००४ मा (इरिगेशन डेभलपमेन्ट प्रोग्राम) अन्तर्गत युरोपेली संघको सहयोगमा पुनः यस आयोजनाको अध्ययन गर्दा जिटिइसी जिओन्स नामको परामर्शदाता कम्पनीको प्रतिवेदनले यो आयोजना प्राविधिक रुपले सम्भाव्य रहेको निचोड निकाल्यो ।

आर्थिक सहयोगका लागि युरोपेली संघ, साउदी विकास कोष, कुवेत फन्ड तथा ओपेक फन्डलाई अनुरोध गरियो । तर दातृनिकायहरुबाट आर्थिक सहयोग जुट्न सकेन । त्यसपछि सरकारले आ।व। २०६१/६२ बाट आफ्नैआर्थिक तथा प्राविधिक स्रोतबाट यस आयोजनाको कार्यान्वयन प्रक्रिया शुरु ग-यो र आ.व. २०६३/६४ बाट निर्माण कार्य शुरु भयो । आ.व २०६८/६९ यस आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा स्तरोन्नति गरियो ।

के हो राष्ट्रिय गौरवका आयोजना ? 

अर्थतन्त्रको जीवन रेखाका रुपमा रहेकार मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने, रणनीतिक महत्वका सडक, सिँचाइ, जलविद्युत्, विमानस्थल, रेल, खानेपानी, वन तथा पर्यटन क्षेत्रको आधारशिलाका रुपमा रहने, ठूला पूर्वाधार जन्य आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ।

नेपालको अर्थतन्त्रलाई गतिशील एवम् थप विस्तार गरेर अतिकम विकसित स्तरबाट विकासोन्मुख हुँदै विकसित राष्ट्रको स्तरमा पु-याउने राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिन सहयोग पु¥याउने उदाहरणीय आयोजना नै राष्ट्रिय गौरवका आयोजना हुन् । मुलुकको आर्थिक विकास, सामाजिक रुपान्तरण, रोजगारी सिर्जना, पुँजी निर्माण र प्रादेशिक सन्तुलनमा यी आयोजनाहरु कोसेढुङ्गा साबित हुनेछन् । यी आयोजनाहरुमा रुपान्तरणकारी, रणनीतिक महत्व र उच्च राष्ट्रिय प्राथमिकता आदि विशेषताहरु रहेको पाइन्छ ।

राष्ट्रिय गौरवका आयोजनाका प्रकार

हलसम्म मुलकभरी २४ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । जसमध्ये सडक तथा रेलसम्बन्धी ७ वटा, सिँचाइसम्बन्धी ६ वटा, जलविद्युत्सम्बन्धी ४ वटा, विमानस्थलसम्बन्धी ३ वटा, धार्मिक तथा सांस्कृतिक सम्पदासम्बन्धी २ वटा र खानेपानी एवम् चुरेक्षेत्र संरक्षणसम्बन्धी १/१ वटा आयोजना रहेका छन् । मन्त्रालयगत रुपमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा १० वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ६ वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५ वटा एवम् रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रमा पर्ने १÷१ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेनालाई काठमाण्डौ–तराई मधेस द्रुतमार्गसडक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी प्राप्त भएको छ भने कालीगण्डकी करिडोर र कर्णाली करिडोरको केही खण्डमा पनि नेपाली सेनाबाट काम भइरहेको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य

राष्ट्रिय गौरवका प्रत्येक आयोजनाहरुको आयोजनागत उद्देश्य फरक फरक भएपनि समग्रमा राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य साझा जस्तै हुने गर्छन । जसमा : समृद्ध नेपालको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, पूर्वाधारको विकासमार्फत् सघन अन्तरआबद्धता बढाउने
सांस्कृतिक सम्पदाको संवद्र्धन तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लगायत रहेका उदेश्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?