काठमाडौं । वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्था बैंक, जसले रकमको बचत,बचतको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू प्रदान गर्छ ।
बैंकले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्तिहरू तथा संस्थाहरूलाई रकम प्रदान गर्दछ । बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ । बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो ।
बैंकबाट पाउने ब्याज, भुक्तानी रकम वा निक्षेपको पूर्ण जानकारी पाउन सकिन्छ । मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र सम्बद्र्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सवल एवम् सुदृढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्न बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्दछ ।
यस्ता छन्,बैंकमा कारोबार गर्दा हुने फाइदाहरू
– बैंकमा बचत गरिएको रकम सुरक्षित हुन्छ ।
– बैंकमा बचत गर्नाले बचत रकम अनुसारको ब्याज पाइन्छ ।
– आवश्यक परेको बेलामा बैंङ्कबाट रकम झिकेर प्रयोग गर्न सकिन्छ ।
– बैंकमा खाता भयो भने देश वा विदेशबाट पैसा पाउन वा पठाउन सकिन्छ ।
– आवश्यक परेको बेलामा बैंङ्कबाट ऋण लिन सकिन्छ ।
– बैंक खाताबाट सामाजिक सुरक्षा भत्ता, पेन्सन, तलब वा सरकारबाट प्रदान हुने रकमहरू प्राप्त गर्न सकिन्छ ।
– बैंक तथा वित्तीय संस्थाको सेवा लिने मान्छेले एक ठाउँबाट अर्को ठाउँमा जाँदा धेरै ठूलो रकम बोकेर हिँड्नु पर्दैन ।
– विभिन्न ठाउँमा भएका बैंकहरूका शाखा वा एटिएम मेशिनबाट आवश्यक रकम झिक्न सकिन्छ । यसरी पैसा हराउने वा लुटिने जोखिम कम गर्न सकिन्छ ।
बैंकका प्रकार
नेपाल राष्ट्र बैंकको गत असोज मसान्तसम्म नेपालमा चार प्रकारका बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् । जसमा वाणिज्य बैंक २७ वटा,विकास बैंक १९ वटा फाइनान्स (वित्त कम्पनी) २१ व्टा तथा लघुवित्त कम्पनीहरुको संख्या ७८ वटा रहेका छन् ।
बैंक खाताका प्रकार
बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यीमध्ये चलन चल्तीमा रहेका खाताहरूमा चल्ती खाता, बचत खाता र मुद्दती खाता प्रमुख हुन् ।
चल्ती खाता
आफूले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । चल्ती खातामा बचत गरेको रकममा ब्याज पाइँदैन । कार्यालयहरूका लागि यो खाता बढी उपयोगी हुन्छ ।
बचत खाता
बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ ।
मुद्दती खातामा
मुद्दती खातामा ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष वा सोभन्दा धेरै अवधिसम्मको एउटा निश्चित समयअवधि तोकेर रकम जम्मा गरिन्छ । सामान्यतया रकम जम्मा गरेको भुक्तानी अवधि समाप्त नभई मुद्दती खाताबाट रकम झिक्न पाइँदैन । मुद्दती खातामा रकम जम्मा गरे वापत ब्याज पाइन्छ । यसै गरी, पैसाको धेरै आवश्यक भएको अवस्थामा मुद्दती खातामा भएको रकमलाई नै धितो राखेर उक्त रकमको नब्बे प्रतिशतसम्म ऋण लिन पनि सकिने व्यवस्था छ ।
यस्ता छन्,वित्तीय सेवा प्रदायक छान्दा ध्यान दिनुपर्ने कुराहरू
आफू बसेको ठाउँमा कुन चाहिँ वित्तीय सेवा प्रदायक उपलब्ध छ होला त भनेर बुझ्नुपर्छ ।
त्यो वित्तीय सेवा औपचारिक हो वा हैन ?
तिनीहरूको समाजमा राम्रो प्रतिष्ठा छ कि छैन ?
के त्यहाँ तपाईंको धन सुरक्षित हुन्छ ?
तिनीहरूले के कस्ता वित्तीय सेवाहरू उपलब्ध गराउँछन् ?
वित्तीय सेवा उपलब्ध गराउने संस्थाको प्रक्रिया सरल छ ?
बैंक/वित्तीय संस्थाका कर्मचारीसँग तपाईको मित्रवत् सम्बन्ध हुन सक्छ ?
उपलब्ध वित्तीय सेवा तपाईंको आवश्यकतासँग मेल खान्छ ?
बैंकमा खाता खोल्दा किन भर्ने ग्राहक पहिचान (के.वाई.सी) ?
बैंङ्कले आफ्ना ग्राहकको सम्पूर्ण विवरण राख्ने एक किसिमको फारामलाई केवाइसी भनिन्छ । के.वाई.सी. नियम अनुसार बैंङ्कहरूले आफ्ना ग्राहकको सम्पूर्ण जानकारी राख्नु पर्दछ । बैंङ्कमा खाता खोल्दा अनिवार्य रूपमा के.वाई.सी. फाराम भर्नु पर्दछ । के.वाई.सी. फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ । बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा,टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।
त्यससँगै बैंङ्कमा के.वाई.सी. फाराम भरेर खाता खोल्न सकिन्छ । यसरी बैंकले ग्राहकबाट धेरै सूचना वा जानकारी लिँदा आफ्ना ग्राहक बारे बैंकलाई धेरै जानकारी हुन गई बैंक ग्राहकसँगको सम्बन्ध र कारोबारमा ढुक्क हुन्छ । बैंकले ग्राहक पहिचानसँग सम्बन्धित विवरण राम्रोसँग राखेको छ भने आवश्यक परेको बेलामा ग्राहकलाई सजिलै सम्पर्क गर्न सक्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया