कमला अर्याल/ काठमाडौं – कोरोना कालमा सेलाएको सुन बजारमा रौनकता आउन थालेको छ। तर बजारमा भने पर्याप्त मात्रामा सुन नहुँदा उपभोक्ताले चाहना अनुसारका गरगहना बनाउन पाएका छैनन् ।
नयाँ वर्षको पूर्वसन्धामा सुन बजारमा भीड लागेको छ । केही उपभोक्ताले नयाँ वर्षका लागि सुन खरिद गर्दैछन् भने अधिंकाश उपभोक्ताले विवाहका लागि खरिद गर्दैछन् । वैशाख लागेसँगै विवाहको लगन शुरु हुने भएकाले सुनको माग पनि अन्य समयको तुलनामा बढी हुन्छ ।
अहिले बजारमा ४५ केजीको हाराहारीमा सुनको माग छ । तर आयात भने २० केजी मात्रै छ । केही समय अघि सरकारले १५ केजीबाट २० केजी सुन ल्याउन पाउने व्यवस्था गरेको थियो । तर त्यो सुन पनि अहिले उपभोक्ताले उपभोग गर्न नपाउँदा आवश्यकता र चाहना बमोजिमका गरगहना बनाउन नपाएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘सरकारले कोटा बढाए पनि त्यसले राहत दिएको छैन ।’ उनले भने ।
नयाँ वर्ष तथा लगनका लागि दुई/तीन महिना अघि नै सुन आइपुग्नुपर्ने भएपनि सरकारले ढिलो गरी सुनको कोटा बढाएकाले माग बढी हुँदा बजारमा सुन उपलब्ध हुन नसकेका पूर्व अध्यक्ष शाक्यले बताए । ‘भोक लागेको बेलामा खान नपाए जस्तै भयो, सरकारी निकायले भोकले मरेको हेरेर बसे ।’ उनले भने ।
व्यवसायीहरुले गत वर्षकै स्टक सुनबाट नयाँ वर्ष र विवाहका लागि गरगहना बनाएका छन्,भने कतिपय व्यवसायीले गत वर्षका तयारी गरगहनाबाट पनि काम चलाएका छन्।
कोरोनाका कारण गत एक वर्षदेखि सुन बजारको कारोबारमा मन्दी आएपनि कोरोनाको खोप बनेसँगै सुनचाँदीको कारोबारमा क्रमिक सुधार हुँदै आएको छ । कोरोनापछि बजार खुले पनि गत वर्षहरुमा जस्तै कारोबार हुन सकिरहेको भने छैन । कोरोनाका कारण कयौं श्रमिकले रोजगारी गुमाएको तथा कयौँले आधा तलब सुविधा प्राप्त गरेकाले आम मानिसको क्रय शक्ति कमजोर हुँदा सुन किन्न सकिरहेका थिएनन् ।
सिजनमा कालीगढ नहुँदा समस्या :
नेपाली सुनचाँदी व्यवसायको क्षेत्रमा ८० प्रतिशतको हाराहारीमा भारतीय कालिगढ कार्यरत छन् । अहिले बजारमा केही चहलपहल भएका बेला सबै कालिगढ नआपुग्दा गरगहना बनाउने काममा समेत असर परेको छ। गत वर्षको फागुनदेखि कोरोना भाइरसको संक्रमण शुरु भएपनि कालिगढहरु भारत फर्केका थिए । तर सबै कालिगढ अहिलेसम्म पनि नफर्कँदा प्रश्स्त मात्रामा गरगहना बनाउन नपाएको व्यवसायीको गुनासो छ ।
स्वदेशमै कालिगढ उत्पादन गर्ने सपना अधुरो :
स्वेशमै नेपाली कालिगढ उत्पादन गर्ने यस व्यवसाय क्षेत्रको लक्ष्य सपना मात्रै भएको पूर्व अध्यक्ष शक्य बताउँछन् । हरेक वर्ष सुन व्वसायमा रहेका भारतीय कालिगढले अर्बौँ रुपैयाँ लाने गरेका छन् । स्वदेशी कालिगढ नहुँदा एकातिर अर्बौ रुपैयाँ बाहिरिने गरेको छ भने अर्कोतिर समयमा कालिगढ उपलब्ध नहुँदा व्यवसायमा समेत असर परेको छ।
विदेशी कालिगढमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न महासंघले अर्धदक्ष नेपाली कालिगढहरुलाई दक्ष बनाउने तथा विदेशि कालिगढहरुलाई क्रमश प्रतिस्थापन गर्ने नीति लिँदै आएको छ । सो नीति अनुसार महासंघले २०६३ सालदेखि गरगहना बनाउने तालिम सेन्टर समेत शुरु गरेको थियो । तर त्यसले व्यवसायलाई धान्ने गरी कालिगढ उत्पादन गर्न सकेको छैन । तर आफूहरुले हिम्मत नहारेको र स्वदेशी कालिगढ उत्पादन गर्ने काममा लागि रहने शाक्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया