काठमाडौं । पछिल्लो समय नेपाली बजारमा तेलको मूल्यले उपभोक्ताको ढाड सेकिरहेका बेला कुखुराको मासुको मूल्य पनि उच्च रुपले बढेपछि उपभोक्ता मारमा परेका छन् ।
कुखुराको उत्पादन नै कम भएका कारण यतिबेला मासुको मूल्य उच्च रुपले बढेको हो। कोरोनाका कारण उत्पादन कम हुनु र काठमाडौं उपत्यका वरिपरिका क्षेत्रमा रोग फैलिनुले अहिले कुखुराको मासुको मूल्य उच्च रुपले वृद्धि भएको हो।
चितवनमा अहिले होलसेल मूल्य २ सय ६० रुपैयाँ छ । काठमाडौंमा होलसेल मूल्य ३०० रुपैयाँ छ । तर बाहिर खुद्रा व्यापारीले ४ सय ४० रुपैँया सम्म मासु बेचिरहेका छन् । मुख्य त उत्पादन नै कम भइरहेकाले मासुको मूल्य बढेको ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलले बताए।
‘कोरोनाका कारण किसानले कुखुरा पाल्नै छोडेकाले उत्पादन नै कम छ।’उनले भने । कम उत्पादन भएका कारण अहिले मासुको माग पूरा गर्न समस्या भइरहेको अध्यक्ष पोखरेलको भनाई छ । कुखुराको मूल्यसँगै चल्लाको मूल्य पनि बढ्दै गइरहेको छ । लकडाउन अघि ३० रुपैँया प्रतिगोटा पर्ने चल्लाको मूल्य अहिले ७०/८० रुपैयाँको हाराहारीमा पुगेको छ । अहिले साढे ८ लाख केजी मासुको माग छ तर उत्पादन भने साढे ६ लाख केजीको हाराहारीमा मात्रै छ। त्यसैले माग धान्न गाह्रो भइरहेको उनको भनाई थियो।
कोरोना कालमा लकडाउन हुँदा किसानहरुले धेरै कुखुरामा घाटा बेहोर्नु परेको थियो । मासुको माग बढी हुने होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द भएका कारण किसानले सस्तो मूल्यमा मासु तथा जिउदो कुखुरा बेच्नु परेको थियो। त्यतिबेला चितवनका हरेक किसानले प्रतिगोटा १५० रुपैँयामै कुखुरा बेचेका थिए ।
लकडाउनका कारण किसानले नयाँ चल्ला नै हालेनन्। जसका कारण व्यवसायीहरुले ठूलो संख्यामा चल्ला नष्ट गर्नु परेको गरेको थियो । ह्याचरी संघका अनुसार लकडाउनका बेला ८ हप्तामा ३ करोड ३६ लाख चल्ला नष्ट गरिएको थियो। चल्ला १ हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गर्छ।
अहिले कोरोनाको दोस्रो लहर शुरु भइसकेको छ। पहिले घाटा खाइसकेका किसानले अब फेरी कति क्षति हुने हो भन्ने डरका कारण किसानले पछिल्लो समय पनि कुखुरा पाल्न डराइरहेका छन् । त्यसैले उत्पादन घटिरहेको छ। किसानले लकडाउनभरी नै कुखुराका नयाँ चल्ला नहाल्दा अहिले बजारमा मासु अभाव भएको छ। लकडाउन अवधिभर किसानले चल्ला नहाल्दा पोल्ट्री व्यवसायीले १४–१५ अर्ब घाटा व्यहोरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया