काठमाडौं । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो । विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध रु एक करोड छ लाख ७२ हजार ९०९ बराबरको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले आज बिगो दाबीसहित जरिवाना तथा कैद सजायको माग गरी मुद्दा दर्ता गरेको जनाएको छ ।
विभागका अनुसार ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारीसमेत भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार पारेर राजश्व छली गरेको अभियोग लगाएको छ ।
यस्तै विभागका अनुसार नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजश्व छली गरेको अभियोगमा दुई वटा फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ती फर्मविरुद्ध रु ३० करोड २८ लाख २ हजार ५७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागका अनुसार ती फर्म सञ्चालकविरुद्ध गत चैत २५ र २६ गते मुद्दा दायर गरेको हो ।
विभागले ती फर्म सञ्चालकको बैंक खाता सञ्चालकलाई जरिवाना र कैदको मागदाबी गरेको छ । न्यू राहुल मोबाइल सेन्टर हेटौंडाका सञ्चालक काजल केशरीसँग रु १२ करोड ३५ लाख २५ हजार २२ बराबरकोे बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । त्यस्तै वीरगञ्ज महानगरपालिका १२ को व्याहुत टे«डर्सका प्रोपाइटर अनिलकुमार कलवारविरुद्ध रु १७ करोड ९२ लाख ७७ हजार ५५१ बराबरको बिगो दाबी गरिएको । विभागले काजल केशरीविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलास र कलवारविरुद्ध उच्च अदालत जनकपुरको इजलास वीरगञ्जमा मुद्दा दायर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया