काठमाडौं । सुस्ता, पश्चिम नवलपरासी–तीनतिर नारायणीले छेकेकाले सुस्तासँग अरू नेपाली बस्तीको सम्पर्क डुंगाबाट तरेपछि मात्रै सम्भव छ । भारतले सीमा मिचेका कारण पटकपटक विवादमा आइरहने यो बस्ती वर्षौंदेखि उपेक्षित थियो । स्थानीय सरकार गठन भएपछि भने यसको एक्लोपन र छटपटाहटमा केही कमी आएको देखिन्छ ।
सुस्तामा स्थानीय सरकारका केही कामले बासिन्दालाई राहत भएको छ । बस्तीमा पक्की बाटो र बिजुली पुगेको छ । स्थानीयले आस गरे पनि सहज नठानेका यी सुविधाले सुस्तावासीको घरदैलो उज्यालो भएको छ ।
सुस्ताले मुहार फेर्दै छ,’ सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले भने, हामीले भर्खरै ढलान गरेर पक्की सडक निर्माण गर्यौं । स्थानीय सरकार सञ्चालनमा आएपछि सुस्ताका बासिन्दाले विकास देखेको दाबी उनले गरे । बाटो मात्रै होइन, एक सय किलोवाटको सोलार बत्ती पनि बालेका छौं घरघरमा उज्यालो पुगेको छ, उनले भने ।
नारायणीले गर्ने कटान र डुबानबाट पीडित बासिन्दाले बस्तीभित्र पक्की सडक देखेको पहिलो पटक हो । सोलार प्यानलबाट विद्युतीकरण गरिएपछि यहाँका बालबालिकाले ढुक्कले पढ्न पाएका छन् । पाकाले टीभीमा देश–विदेशका खबर हेर्न पाएका छन् ।
ठेकेदारले काम थालेर अलपत्र पारेको १ हजार ५ सय ७५ मिटर लामो झोलुंगे पुलको काम पुनः शुरु भएको छ । यही पुलले यहाँका बासिन्दालाई गाउँपालिकाका बाँकी भूभागसित जोड्नेछ । ‘गाउँपालिकाका १३ हजार बासिन्दा नारायणीवारि बस्छन्,’ अध्यक्ष पाण्डेले भने, ‘२ हजार जना पारि (सुस्तामा) बस्छन् ।
उनका अनुसार सुस्ताका तीन सयमध्ये १ सय ५४ परिवारले जनता आवास कार्यक्रममार्फत घर प्राप्त गरेका छन् । तीबाहेक अन्य घरधुरी भारतबाट आएर सुस्तामा बसोबास गरिरहेका हुन् । यहाँ नागरिकता प्राप्त नगरेका धेरैको भारतमा घर र खेत छ । उनीहरूको भारतीय नागरिकतासमेत छ ।
कुनै न कुनै बहानामा नेपाली भूमिमा आई वर्षौंदेखि बसेका छन्,’ पाण्डेले भने, ‘उनीहरूलाई न नागरिकता दिन मिल्छ, न त भारत नै फर्काउन । अहिले सुस्ताका बासिन्दाले नारायणीपारि जग्गा जोड्न थालेका छन् । केहीले घरसमेत बनाइसकेका छन् । कहिले पारि कहिले वारि गरेर बस्ने गरेका छन्, पाण्डेले भने ।
स्थानीयका अनुसार २०७५ भदौमा नाकामा भएको सामान्य विवादपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई धेरै दुःख दिने गरेका छैनन् । यहाँका बासिन्दा कोरोनाको त्रास नहुँदो हो त दिनहुँ विहारको बजार पुगेर उपभोग्य सामान खरिद गरी आउन पाउँथे ।
नवलपुरदेखिका मानिस भारतीय बजार धाउने गर्छन् । नेपाली बजारभन्दा सस्तो पर्ने भएकाले सीमापारि जाने गरेको स्थानीय व्यवसायी ६५ वर्षीय अब्दुल वाहब खाँले बताए ।
२०३० सालदेखि सुस्तामा बसोबास गरिरहेका उनको अहिलेसम्म नागरिकता छैन । यहाँ बस्ने अनुमति भए पनि नागरिकका रूपमा प्राप्त हुने सुविधाबाट वञ्चित भएको खाँले गुनासो गरे । उनी दिनहुँ साइकल लिई डुंगाबाट वारि बजार आई ५० किलोसम्म सामान खरिद गरी पारि जाने गर्छन् ।
घरमा किराना पसल छ,’ उनले भने, ‘भारतको नाका बन्द भएकाले वारि सुस्ता आई किन्ने गरेको छु । गाउँ सानै भए पनि व्यापार राम्रै चलेको उनले बताए । सुस्तामा भारतीय रुपैयाँ चलनमा रहेको उनले सुनाए ।
गाउँमा एक मात्र आधारभूत विद्यालय छ । पहिले रहेका अन्य तीन विद्यालय विस्थापित भए । जनता दलित प्रावि २०७७ मा आधारभूत विद्यालयमा परिणत भएको हो । अहिले विद्यालयमा गाउँका ४ सय ६ विद्यार्थी छन् । १२ जनाले पढाइ छाडे । केही भारतमा पढ्छन् ।
सुस्ता र पारिपट्टिको बिहारमा घर भएकाले छोराछोरी उतै पढाउँछन् । दलित समुदायको बाहुल्य रहेकाले विद्यालयका नाममा दलित जोडिएको सहायक प्रधानाध्यापक अरन्जेब खानले बताए ।
हरेक अभिभावकलाई छोराछोरी पढाउनुपर्छ भन्ने राम्ररी थाहा छ, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका कारण आफूहरूसँगै मजदुरी गर्न लगाउने गरेकाले पढाइ छुटाए । विद्यालय ५ कक्षासम्म हुँदा त्यति पढेपछि विद्यार्थी घरै बस्थे ।
अहिले आधारभूत भएको छ, कक्षा ८ सम्म पढेर छोड्छन्,’ उनले भने । खानका अनुसार छोरीको १८ वर्ष पुग्दा बिहे गरिदिने र छोरालाई कमाउन पठाउने चलनले शिक्षामा सुस्ताका बालबालिकाको प्रगति हुन नसकेको हो । विद्यालयमा कसैले मास्क लगाउँदैनन् ।
समाचारमा भारतमा कोरोना संक्रमण बढिरहेको सुन्ने गरे पनि अहिलेसम्म गाउँमा कोही संक्रमित भएको थाहा नपाएकाले कसैलाई मास्क लगाउनुपर्छ भन्ने अनिवार्यता नरहेको खानले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया