एमालेको अनुशासन आयोगद्वारा भोलिको बैठक रोक्न माग

काठमाडौं । प्रधानमन्त्री एवं  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि सोमवारका लागि बोलाएको बैठक एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोराले तत्काल रोक्नु पर्ने बताएका छन् ।

आज आइतवार एक विज्ञप्ति प्रकाशित गर्दै बोहोराले आयोजक समितिको नाममा बैठक राखेर स्थितिलाई थप असहज नबनाउन र उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय नगर्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले भोलि सोमवारका लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि पार्टी २०७५ जेठ २ गतेको अवस्थामा पुगेको भन्दै उनले सोही मितिका आधारमा अघि बढे विवाद समाधान हुने बताए ।

विज्ञप्तिमा ‘हामी २०७५ साल जेष्ठ २ गते पूर्वको अवस्थामा पुगेका छौ। सर्वोच्चको फैसलापछि हाम्रा सम्पूर्ण कामहरु त्यही विन्दुवाट शुरु हुनुपर्ने थियो। पार्टी विधानले गरेको व्यवस्थालाई ख्याल नगरी आयोजक कमिटी बनाएर त्यसलाई उल्लंघन गर्ने काम गरियो,’ भनिएको छ।

‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा उल्टै २०७८ वैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदै छ। यसलाई तत्काल रोकिनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नुहुँदैन। पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?