काठमाडौं । बजाज पल्सर ट्राई नेसन्स टी–२० क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया आ–आफ्नो दोस्रो खेल खेल्दै छन् ।
पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटले जीत हासिल गरेको नेपाल सिरिजमा लगातार जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । उता नेदरल्याण्ड्स सँग हिजो भएको खेलमा १५ रनले हार बेहोरेको मलेसिया अंक तालिकामा खाता खोल्ने दाउमा मैदान प्रवेश गर्ने छ ।
नेदरल्याण्ड्स विरुद्ध खराब बलिङ प्रदर्शन गरेको मलेसियाले गल्ती दोहोर्याउन चाहने छैन । नेपाललाई घरेलु मैदानमा हराउन अन्डरडग मलेसियाको टीमलाई एसीसी इस्टर्न रिजन टी–२० खेलको सम्झनाले आत्मविश्वास बढाउने छ । गत वर्ष थाइल्यान्डमा भएको सो प्रतियोगिताको खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजीत गरेको थियो ।
तर हालसम्म यी दुई देश बीच खेलिएका ४ टी–२० र ४ टी–२० आई खेलहरूमा नेपालले ३ टी–२० र ३ टी–२० आई खेलमा जीत निकालेको छ । घरेलु मैदानमा पहिलो त्रिकोणात्मक टी–२० आई शृंखला खेलिरहेको नेपालले पनि मलेसिया विरुद्धको नतिजाहरुलाई कायम नै राख्न चाहन्छ ।
पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेका नेपाली युवा ब्याटम्यान द्वय कुशल भुर्तेल र आशिफ शेखको प्रदर्शन मलेसिया विरुद्ध कस्तो होला त ? त्रिवि क्रिकेट मैदानमा आज अपरान्ह १ः१५ मा खेलिने खेलले सबै जवाफ आफै दिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया