पछिल्लो समय आर्थिक गतिविधि बढेकाले कर्जा विस्तार तीव्र : सीईओ सुमन शर्मा (भिडियो सहित)

लोकपथ
7
Shares

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रहरु प्रभावित भए । जसमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैंकिङ क्षेत्रमा पनि उत्तिकै असर परेको छ । सम्पूर्ण व्यवसाय ठप्प भएकोले व्यवसायीहरुले समयमा ऋण तिर्न नसक्दा बैंकहरुको नाफा घट्नुका साथै खराब कर्जाको दर पनि बढेको छ । यस्तो अवस्थामा बैंकहरुले आफूलाई कसरी पहिलेकै अवस्थामा फर्काउन सक्छन् त ? कृषि क्षेत्रमा लगानी, बैंकिङ प्रणालीमा प्रविधि तथा बैंकको प्रगतिका साथै आगामी योजनाका विषयमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग कमला अर्यालले गर्नुभएको कुराकानीको संम्पादित अंशः

बैंकहरुको पछिल्लो अवस्थाबारे भनिदिनुहोस् न ?
म यस बैंकमा आएको धेरै भएको छैन । बैंकको चालू आर्थिक वर्षको छैठौं महिनासम्मको त्रैमासिक रिपोर्ट हेर्दा नाफा र खराब कर्जा (एपिएल) मा राम्रो प्रगति गरेको छ । त्यसका साथै निक्षेप संकलन र कर्जा लगानीका हिसाबले पनि राम्रो प्रगति गरेको छ । खराब कर्जाको अवस्था त अझै स्पष्ट रुपमा आइसकेको छैन । किनकि कोरोना भाइरसको संक्रमण अझै कहिलेसम्म रहिरहने हो ? त्यसैले तेस्रो त्रैमासिक रिपोर्टमा खराब कर्जाको वास्तविक अवस्था देखिन्छ । रिकभरीमा लागि बैंक लागिरहेको छ । साथै बैंक असुल उपर गर्न पनि लागेको छ । तर कोरोनाका कारण अलि समस्या भइरहेको छ । समग्रमा बैंकको प्रगति सन्तोषजनक नै छ ।

यस बैंकमा तपाई आउनुभएको धेरै भएको छैन, बैंकलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ?
बैंकिङ व्यवसाय भनेको ठूलो कम्प्लेक्स खालको व्यवसाय होइन । बैंकको निक्षेप संकलन गर्ने, कर्जा लगानी गर्ने काम हो । डिजिटलाइजेसनमा सबै बैंक तथा वित्तिय संस्था लागि राखेका छन् । अहिले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको धेरै काम भइरहेको छ । हामीले डिजिटल बैंकिङमा मिस्डकल सेवा संचालन गरेका छौँ । यो सेवा हामीले सुरु गरेको धेरै भइसक्यो । बैंकिङ क्षेत्रमा यो सेवा दिने हामी मात्रै हो । यस्ता खालका आविस्कारहरु बैंकिङ क्षेत्रले पछ्याइरहेको छ । अहिले सबै बैंकहरुले ‘क्यूआर’ कोड लागू गरिरहेका छन् । हामीले पनि गरेका छौँ । यसका अलावा मेरो छुट्टै भिजन छ । जुन, म मेरो कार्यकालमा प्राप्त गर्न चाहन्छु । जसमा आर्टिफिसियल इन्टेलिजेन्स र डिशिजन मेकिङ टुल्समा मेरो अलि फोकस छ ।

बैंकिङ क्षेत्रमा नयाँ – नयाँ प्रविधि भित्रिएसँगै जोखिम पनि उस्तै बढेको छ । न्यूनिकरणका लागि बैंकहरुको पहल के छ ?
त्यस्ता जोखिमबाट बैंकिङ क्षेत्रलाई बचाउन बैंकहरुले ट्रान्जेंक्सन, पिनकोड जेनेशनदेखि लिएर हरेक क्षेत्रमा सुरक्षा अपनाउन विषेशहरु राखेका छन् । प्रविधि र त्यसको सुरक्षामा जति लगानी गर्नुपर्ने हो, त्यस्तो लगानीमा बैंक पछाडि परेका छैनन् ।

कोरोना भाइरसको कारण अर्थतनका क्षेत्रमध्ये प्रमुख मानिएको बैंकिङ क्षेत्रलाई पनि निकै प्रभावित बनायो । यो क्षति पूर्ति गर्न कति समय लाग्ला ?
कोरोना कालमा ९/१० महिना जस्तो पूर्णरुपमा सम्पूर्ण व्यवसाय ठप्प भयो । दैनिक उपभोग्य वस्तुहरुको व्यवसायमा असर परेन । तर निर्माण,उद्योग, कलकारखाना, होटल तथा पर्यटन क्षेत्रमा धेरै ठूलो असर परेको छ । पछिल्लो समय सरकारले कोरोना विरुद्धको खोप पनि ल्याएको छ । विस्तारै व्यवसाय चलायमान हुँदैछन् । तर होटल व्यवसायका क्षेत्रमा जबसम्म अन्तराष्ट्रिय गतिविधी बढ्दैनन्, त्यतिवेलासम्म सुधार हुने देखिँदैन । यस क्षेत्रलाई पहिलेकै अवस्थामा पुग्न केही समय लाग्छ । स्टिल, सिमेन्ट लगायतका क्षेत्रमा त अहिले राम्रो काम भइरहेको छ । केही संस्थाहरुमा बाउन्स ब्याक हुन्छ कि हुँदैन भनेर हेर्नै बाँकी छ । समग्रमा सुधारोन्मुख छ ।

कोरोनाले क्षति पुर्‍याएका बेला ऋण तिर्न भन्दै बैंकहरुले व्यवसायीलाई निकै दुःख दिए । संकटका बेला बैंकले त्यसरी दुःख दिन मिल्छ ?

अरु बैंकको कुरा म गर्दिन । सनराइज बैंकको हकमा ऋणीसँग कति ऋण तिर्न सक्नुहुन्छ भनेर सम्झौता अनुसार नै ऋण तिर्न लगाएका छौँ । त्यो अनुसार अगाडि बढ्ने हो । ऋणीले पहिले पैसा तिरेनन् भनेर ‘रिस्टकचरिङ’ गर्न नदिएर ‘रिपेमेन्ट सेड्युल रिभाइज’ गर्न नदिएर दुःख दिएका छैनौँ । हामीले त कोरोनाको क्षतिका कारण धेरैलाई सहुलियत पनि दिएका छौँ । र धेरै ऋण ‘रिस्टकचर’ पनि गरेका छौँ ।

पछिल्लो समय बैंकहरुको कर्जा लगानीको अवस्था हेर्ने हो भने निकै आक्रामक देखिन्छ । बैंकहरुको कर्जा लगानी अस्वभाविक भयो भन्ने कुरा पनि आएको छ । के साँच्ची अस्वभाविक भएको हो ?

तपाइले समग्रमा प्रणालीमा सबै बैंक तथा वित्तीय संस्थाहरुले दिएको कति ‘लोन’ छ भनेर हेर्न सक्नुहुन्छ । राष्ट्र बैंकले सीसिडि पनि अलि खुकुलो बनाइदिएको छ । किन की कोरोनाका बेला ऋणीलाई संरक्षण गर्नु पर्छ । सपोर्ट गर्नुपर्छ भन्ने खालको वातावरण पनि सिर्जना भएको छ । त्यसो नगरेको भए व्यापार व्यवसाय पनि बिग्रिन्थ्यो । अर्थतन्त्रका अन्य गतिविधीहरु पनि बिग्रन्थे । पछिल्लो समय धेरै व्यवसायिक गतिविधीहरु बढ्दै गइरहेका छन् । त्यसैले कर्जाको माग पनि बढिरहेको छ । कर्जाको आपूर्ति भन्दा माग बढी भएकाले अहिले यस्तो अवस्था आएको हो ।

कोरोना संक्रमणपछि सरकारले कृषिमा लगानी गर्न बढी चासो देखाएको छ । चालू आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । विगतका वर्षहरुमा बैंकहरुले कृषिमा प्रशस्त लगानी गरेको देखिँदैन । अब बैंकहरुले कृषिमा लगानी गर्ने मोडालिटी कस्तो हुन्छ ?

नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्र छुट्टयाएर लगानी गर्न निर्देशन दिइसकेको छ । अहिले विभिन्न प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुले लगानी गरिरहेका छन् । राष्ट्र बैंकले हामीलाई निर्देशन गरिरहेको छ । त्यसैका आधारमा बैंकहरुले प्राथमिकता प्राप्त तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका छन् । पहिले ऊर्जा र कृषिमा भनेर क्षेत्र तोकिएको थियो । अहिले छुट्याएको छ । पहिले कृषि कर्जा सबन्धी विशेषज्ञहरु पनि थिएनन् ।

उर्जामा पनि शुरु शुरुमा विशेषज्ञ थिएनन् । तर बिजुली उत्पादन गरिसकेपछि विद्युत प्राधिकरणले किन्ने र त्यो पैसा बैंकमा आउने एकदमै ट्रान्फरेन्ट मेकानिजम छ । यसो हुँदा बैंकहरुलाई पनि बिस्तारै विश्वास बढ्दै गयो र लगानी बढाउन थाले । ठिक त्यसैगरी कृषिमा पनि विश्वासको वातावरण बन्नुपर्छ।

आयातित कृषि जन्य उत्पादन सस्तो भएका कारण स्थानीय उत्पादनले बजार लिन सकेको देखिँदैन । आन्तरिक उत्पादनलाई बाह्य आयातले असर पारिरहेकाले बैंकलाई त्यहाँनेर अलि बढी जोखिम देखिन्छ । तर स्थानीय तहमा माटो सुहाउँदो बैंकहरुले कृषिमा लगानी गरिरहेका छन्।

प्रस्तुत छ, सीईओ शर्मासँग गरिएको विस्तृत भिडियो कुराकानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?