कमला अर्याल/काठमाडौं- पछिल्ला केही महिनामा खाने तेलको मूल्य उच्च रुपले बढ्न थालेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले खाने तेलको मूल्य उच्च रुपमा वृद्धि गरेका हुन् । गत तिहारदेखि बढ्न थालेको खाने तेलको मूल्य पटक पटक बढिरहेको छ । तेल उद्योगीले यसरी लगातार तेलको मूल्य बढाउन थालेपछि उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
सरकारको फितलो अनुगमनकोे फाइदा उठाउँदै उद्योगी तथा व्यवसायीले पटक पटक तेलको मूल्य वृद्धि गरेर बजारमा ब्रम्हलुट मच्चाएका छन् । गत जेठमा प्रतिलिटर १ सय ६० रुपैयाँ रहेको सनफलवर तेल अहिले २ सय ५० रुपैँया भन्दा बढी पुगेको छ । त्यस्तै, १ सय ५५ रुपैयाँ प्रतिलिटर रहेको भटमासको तेल अहिले २ सय ४० रुपैयाँ पुगेको छ ।
यसरी एक्कासी बढेको तेलको मूल्य उपभोक्ताले धान्नै नसक्ने भएको छ । कोरोनाको दोस्रो लहर सुरु भइसकेकाले तेलको मूल्य अझै बढ्ने आँकलन गरिएको छ ।
खुद्रा व्यापार संघका अध्यक्ष रामकृष्ण मानन्धरले हरेक हस्ता मूल्य वृद्धि गर्दा साना व्यवसायीलाई तेलको कारोबार गर्नै समस्या भएको बताए । त्यसका साथै उपभोक्तालाई हरेक हप्ता तेलको मूल्य बढ्यो भनेर बुझाउनै नसकिएको बताए ।
पछिल्लो समय प्रतिलिटर १० देखि १५ रुपैँयामा तेलको मूल्य बढेर आउने गरेको छ । संघका अनुसार अहिले सुर्यमुखी तेल प्रति कार्टुन २३ सय ५० रुपैयाँ र भटमासको तेल प्रति कार्टुन २१ सय ५० रुपैयाँ पुगेको छ । केही दिन अघिसम्म सुर्यमुखी तेल २२ सय ५० देखि २ हजार ३ सय रुपैयाँमा थियो । भट्मासको तेल प्रति कार्टुन २ हजार ५० रुपैयाँ सम्म थियो ।
गत वैशाखमा सुर्यमुखी तेलको मूल्य प्रति कार्टुन १२ सयदेखि १२ सय ५० रुपैयाँ सम्म थियो । त्यस्तै, भट्मासको तेल प्रति कार्टुन ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । गत वैशाखाको तुलनामा यस वैशखामा प्रति कार्टुन झण्डै आधा मूल्य बढेको छ । यसरी मूल्य बढ्दा धान्नै नसक्ने अवस्था भएको उपभोक्ताको गुनासो छ।
ब्यबसायीको आफ्नै गुनासो
असनका होलसेल व्यवसायी रमेश शाक्यले हप्ता दिनमै तेलको मूल्य बढ्न थालेपछि तेल बेच्नै समस्या भएको बताए । ‘एक हप्तामै मूल्य बढ्छ,उपभोक्ताले गाली गर्न थाले,कसरी बेच्नु तेल ?’ उनले भने । विगतका दिनहरुमा केही मात्रै मूल्य बढाउने गरेको भए पनि पछिल्लो समय उच्च रुपमा मूल्य बढाएको उनले बताए । उद्योगी व्यवसायीले तेल बेच्न नसक्ने गरी मूल्य बढाएको ती होलसेल पसल व्यवसायीको गुनासो थियो।
सरकारको संधै तयारी जवाफ
सरकार रमिते बन्दा उपभोक्ताको ढाड सँधै सेकिएको छ । सरकारको फितलो अनुगमनका कारण उद्योगी/व्यवसायीले चलखेल गर्ने मौका पाएका छन् । जसले गर्दा उपभोक्ताले प्रत्यक्ष रुपमा भार उठाउन बाध्य छन् । तर सरकारले भने सधैँ तयारी जवाफ दिने गरेको छ, ‘हामी अनुगमन गरिरहेका छौं ।’
बाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेडाइले आफूहरूले नियमित अनुगमन गरिरहेको बताए । तेल खरिद गरेको कागजात मगाएर अध्ययन गर्ने समेत उनले बताए । ‘तेलको मूल्य किन बढ्यो भनेर हामीले कागजात मगाएका छौँ ।’ उनले भने । केही दिनभित्र तेलको कारोबार गर्ने उद्योगबाट कागजात आएपछि अध्ययन गरिने र दोषी ठहरीए कारवाही गर्ने प्रवक्ता सेँडाईले बताए ।
विभागले यसअघि अनुगमनका कारण दोषी पाइएका २ उद्योगलाई कारवाही गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया