काठमाडौं । आगामी वर्ष बाट जारी हुने भनिएको युरोपियन सुपर लिगको भविष्य अन्योलमा देखिन्छ । सुपर लिगको औपचारिक घोषणा भएको ४८ घण्टा नबित्दै विश्वभर यसको आलोचना र निन्दा जोडतोडले भएपछि इङ्ल्यान्डका सबै ६ टिमले आफ्ना नाम फिर्ता लिएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जनसनले सुपर लिगमा भाग लिने क्लब माथि कारवाही गर्ने निर्णय लिएपछि, इंग्लिश क्लबहरुले गए राती सुपर लिगसँग आफ्नो आबद्धता तोडेका हुन् ।
विश्वभर सुपर लिगको आलोचना भइरहेको हुँदा क्लबहरूलाई आफ्ना समर्थक र स्टेकहोल्डरको साथ पनि मिलेको थिएन । मुख्य प्रशिक्षक, सम्पूर्ण स्टाफ र खेलाडीहरु पनि सुपर लिगको विरुद्धमा थिए ।
सुपर लिगबाट आफ्नो नाम फिर्ता लिने म्यानचेस्टर सिटी पहिलो क्लब बन्न पुग्यो । सिटीलाई पछ्याउँदै चेल्सी, युनाइटेड, लिभरपुल, आर्सनल र टोटनह्यामले पनि गए राती नै सुपर लिग छाड्ने निर्णय गरेका हुन् । सबै क्लबहरुले आफ्नो औपचारिक मिडिया मार्फत सो निर्णय लिएको जानकारी दिए ।
लिभरपुल र चेल्सीले आ–आफ्नो प्रिमियर लिग खेल खेल्ने क्रममा रंगशाला बाहिर ठूलो प्रदर्शन भएको थियो । टिमको बसलाई रंगशालासम्म पुग्न पनि धाउधाउ परेको थियो ।
सुपर लिग विरुद्ध उठेका सबै फुटबल प्रेमी र समर्थकहरूले राहतको सांस फेरेका छन् । सबैजनाको एउटै बोली छ, ‘फुटबलको जीत भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया