डा. रमेश सापकोटा । नेपालमा कोरोनाको दोस्रो लहरले भयावह स्थिती सिर्जना गर्दैछ । छिमेकी मुलुकमा नियन्त्रणबाहिर पुगेको कोरोनाको कहरका कारण यो समाचार तयार पार्दासम्म नेपालमा २ लाख ८९ हजार ७ सय ८७ जना संक्रमित भएका छन् । २ लाख ७६ हजार ९३ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार १ सय १२ जनाको मृत्यु भइसकेको छ ।
यस्तोमा कोरोनाको दोस्रो लहरको जोखिमबाट बच्न सबैको भूमिका महत्वपूर्ण छ । यसैबीच डाक्टर रमेश सापकोटाले दिएको केहि महत्वपूर्ण सुझाव यहाँ उल्लेख गरिएको छ ।
- कुनै पनि रोगको विश्वव्यापी महामारी भाइरस पूर्ण वा आशिंक नियन्त्रणमा आएपछि सो को संक्रमण दरमा पुन वृद्धि हुनु वा पहिलेकै अवस्थातिर फर्कनुलाई ‘दोस्रो लहर’ भनिन्छ।
- अहिले संक्रमण गर्ने भाइरसहरु पूर्ण रुपमा पहिलेको भन्दा फरक छन् भन्ने त होइन तर विश्वको केही ठाउँमा भाइरसमाः ‘Mutation’ भई नयाँ स्वरुप विकसित भएको र सो को संक्रमण अझै भयानक रहेको यथार्थ चाहिँ चिन्ताको विषय हो।
- कोरोनाको जुन स्वरुपविरुद्ध भ्याक्सिन विकसित भएको हो । सो भ्याक्सिनको सम्पूर्ण डोज लगाइसकेपछि, कोरोनाबाट निकै हदसम्म सुरक्षित रहन त सकिन्छ तर पूर्ण रुपमा भने होइन ।
- यस बाहेक ‘Mutation’ भई नयाँ विकसित भएको कोभिड भाइरसले रोग लगाउन सक्ने सम्भावना त जीवित नै रहन्छ । त्यसैले भ्याक्सिन लगायतका वान लगायतका जसले पनि न्यूनतम स्वास्थ्यका मापदण्ड पालना गर्नु अनिवार्य छ ।
- कोभिड पोजेटिभ देखिएका सबै बिरामी अस्पताल नै भर्ना हुनुपर्छ भन्ने छैन र यो सम्भव पनि हुन्न। लक्षण सामान्य हुने र जोखिमको परिधिबाट बाहिर रहेका व्यक्तिहरू घरमै बस्न सक्नुहुन्छ । तर, उहाँहरूले निश्चित नियमहरू भने अवश्य पनि पालना गर्नुपर्छ। संक्रमित बिरामीले छुट्टै कोठाको प्रयोग गर्ने र निजले प्रयोग गर्ने सामानहरू नितान्त व्यक्तिगत हुनुपर्छ। सम्भव भए ट्वाइलेट, बाथरुम पनि अलग्गै प्रयोग गर्ने र सो गर्न सम्भव नभए हरेक प्रयोगपछि पानीले राम्रोसँग सफा गर्नुपर्छ।
- मास्क र स्यानीटाइजर को प्रयोगमा कन्जुस्याई गर्न मिल्दैन । परिवारका अरु सदस्यले बिरामीबाट कम्तिमा दुई मिटर दुरी कायम गर्नु अनिवार्य छ। नियमित रुपमा ‘ Oxymeter ‘ को सहयोगमा ‘Oxygen’ को मात्र जाँच गरिराख्ने र ९० भन्दा कम (सामान्य व्यक्तिमा) वा ८५ भन्दा कम (दम, COPD बिरामीमा) भएमा चिकित्सकको परामर्श लिनुपर्छ । साथै, श्वास फेर्न गाह्रो भएमा डाक्टरको सल्लाह लिनुपर्छ । अझै महत्वपूर्ण कुरा के छ भने आफ्नो आत्मबल उच्च राखेमा कोरोनालाई जित्न निकै सजिलो हुन्छ।
- संक्रमणको दर न्यून वा मध्यम रहँदा हामी हाम्रा श्रोत र साधनबाट यसलाई नियन्त्रण गर्न सक्छौं । तर, उच्च संक्रमणको दर नेपाल आफैँले मात्र व्यवस्थित गर्न सक्छ भनेर कल्पना गर्नु चाँही यथार्थ बाहिरको कुरा हो ।
- कोभिडको पहिलो लहर फैलिएसँगै सरकार र निजी क्षेत्रले स्वास्थ्य पुर्वाधार, औषधी एवं सामग्री खरिदमा उल्लेखनीय प्रगति गरेको कुरा नकार्न त सकिँदैन तर यसो भन्दैमा यो प्रर्याप्त छ भन्ने पनि हैन । संक्रमणको दर तीव्र बन्न नपाओस् भन्ने मै हाम्रो ध्यान बढी केन्द्रित हुनुपर्छ।
‘कोरोना नियन्त्रणमा सबै जिम्मेवार हुनुपर्छ’
सरकार र जनताले दुवैले अपनाउने कदम नितान्त फरक छन् र दुवै आफैँमा निकै महत्वपूर्ण छन् । एकको आवश्यकताले अर्कालाई निष्प्रभावी बनाउन कदापी सक्दैनन् । राज्यले मुलतः अभिभावकीय भुमिका निर्वाह गर्नुपर्छ । सरकारले त विशेष गरी नीतिगत प्रवन्ध गर्ने हो ।
राज्यले तोकेका निश्चित स्वास्थ्यका मापदण्ड अनुसरण गर्ने मुख्य दायित्व भनेको जनमानसको हो । दुवैले मिलेर काम नगर्ने हो भने कोरोना नियन्त्रण सम्भब छैन । हो अभिभावक हुनुको नाताले सरकार बढी जिम्मेवार ठहर्छ नै । तर कोरोना अनियन्त्रित हुँदा हामी पनि दोषबाट उम्किन भने सक्दैनौँ । यो यथार्थ हामीले समयमै बुझ्नु जरुरी छ।
विश्वव्यापी कोरोना संकटसँग जुध्नु हामी सबैको साझा जिम्मेवारी हो । अझ नेपाल जस्तो श्रोत र साधनको कमीहुने राष्ट्रमा त यो चुनौती विकराल हुने देखिन्छ । तसर्थ,आमजनता र सरकार दुवै मिली यो रोगसँग जुध्नुपर्छ ।
नियमित रुपमा साबुन पानीले हातधुने, मास्कको अनिवार्य प्रयोग गर्ने, सेनीटाइजरको व्यवस्थित प्रयोग गर्ने, व्यक्ति व्यक्तिमा कम्तीमा २ मिटरको दुरी कायम गर्ने, सभा सम्मेलनहरू तत्कालका लागि स्थगित गर्ने जस्ता क्रियाकलापमा आममानिसले ध्यान पुर्याउनुपर्छ । त्यसैगरी सरकारले भने स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्ने र उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । यसो गर्न सक्यौँ भने कोरोनाको ‘दोस्रो लहर’लाई हामी पराजित गर्न सक्छौँ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया