काठमाडौं – राष्ट्रिय गौरवको आयोजना मध्येको एक महाकाली सिँचाइ आयोजनाको काम थालनी भएको १२ वर्षमा जम्मा ३९ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
आर्थिक वर्ष २०६३ /६४ बाट शुरु भएको बहुप्रतिक्षित यस आयोजनामा ३९ प्रतिशत मात्रै भौतिक प्रगति हुँदा जनताले लाभ लिन पाइरहेका छैनन् भने लागत बढ्न गई राष्ट्रिय ढुकुटीको समेत दोहन हुने निश्चित छ ।
सुदूरपश्चिम प्रदेशमा पर्ने यस आयोजना आर्थिक वर्ष २०७७/७८ को बजेटले राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरेको हो।
यस आयोजनाको हालसम्म ३९ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति १०.४ प्रतिशत मात्रै भएको छ। यस आयोजनाको कुल अनुमानित लागत ३४ अर्ब रहेको छ। त्यस्तै, यस आयोजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा ४३.९ करोड रुपैँया विनियोजन गरिएको थियो । जसमा ३९ करोड रुपैँया खर्च भएको छ । आर्थिक वर्ष २०६३/६४ मा शुरु भएको यो आयोजना आर्थिक वर्ष २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार ५२० हेक्टर कृषि योग्य भूमिमा दिगो र भरपर्दो रुपमा सिँचाइ सुविधा उपलब्ध गराउने यस आयोजनाको लक्ष्य रहेको छ ।
त्यस्तै,यस आयोजनाबाट कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार ५२० हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दो रुपमा सिँचाइ सुविधा उपलब्ध गराई कृषकको आय आर्जनमा वृद्धि गर्ने तथा १ लाख ३५ हजार नागरिकको जीवनस्तर सुधार गर्ने अपेक्षा राखिएको छ ।
यस आयोजनाको १ वटा राजमार्ग पुल, २ वटा ड्रोन साइफन तथा २ वटा सुपर प्यासेज निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, करिब १४.४ हेक्टर नम्बरी जग्गाको समेत लगत तयारी भइसकेको छ । त्यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको २७ हेक्टर जग्गाको भोगाधिकार प्राप्त भएको तथा १ हजार ४ सय १६ वटा रुख कटान सम्पन्न भएको छ ।
आयोजना कार्यान्वयनमा देखिएका प्रमुख समस्या :
हरेक आयोजनामा जस्तै यस आयोजनामा पनि विभिन्न समस्या र चुनौतीहरु रहेका छन् ।
- प्रचलित कानून बमोजिम मुआब्जा दिन नमिल्ने तर स्थानीयहरुले पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गाहरु भएको कारण उचित क्षतिपूर्ति नदिई जग्गा अधिग्रहण गर्न नसकिने अवस्था भएकाले यस विषयमा मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने
- ऐलानी जग्गाको भोगाधिकारसम्बन्धी निर्णय हालसम्म पनि नभएको
- प्रत्येक रुख कटान भएको क्षतिपूर्तिस्वरुप १० बिरूवा लगाउनुपर्ने हुँदा नर्सरी तयार गरी वृक्षरोपण गर्न समेत जग्गाको उपलब्धता नभएको
- जनशक्ति अभाव
- अव्यवस्थित र अनि यन्त्रित नदी उत्खनन
- सिँचाइ संरचना अतिक्रमण
के हो राष्ट्रिय गौरवका आयोजना ?
अर्थतन्त्रको जीवन रेखाका रुपमा रहेकार मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने, रणनीतिक महत्वका सडक, सिँचाइ, जलविद्युत्, विमानस्थल, रेल, खानेपानी, वन तथा पर्यटन क्षेत्रको आधारशिलाका रुपमा रहने, ठूला पूर्वाधार जन्य आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ।
नेपालको अर्थतन्त्रलाई गतिशील एवम् थप विस्तार गरेर अतिकम विकसित स्तरबाट विकासोन्मुख हुँदै विकसित राष्ट्रको स्तरमा पु–याउने राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिन सहयोग पु-याउने उदाहरणीय आयोजना नै राष्ट्रिय गौरवका आयोजना हुन् । मुलुकको आर्थिक विकास, सामाजिक रुपान्तरण, रोजगारी सिर्जना, पूँजी निर्माण र प्रादेशिक सन्तुलनमा यी आयोजनाहरु कोसेढुङ्गा सावित हुनेछन् । यी आयोजनाहरुमा रुपान्तरणकारी, रणनीतिक महत्व र उच्च राष्ट्रिय प्राथमिकता आदि विशेषताहरु रहेको पाइन्छ।
राष्ट्रिय गौरवका आयोजनाका प्रकार
हालसम्म मुलुकभरी २४ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । जसमध्ये सडक तथा रेलसम्बन्धी ७ वटा, सिँचाइसम्बन्धी ६ वटा, जलविद्युतसम्बन्धी ४ वटा, विमानस्थलसम्बन्धी ३ वटा, धार्मिक तथा सांस्कृतिक सम्पदासम्बन्धी २ वटा र खानेपानी एवम् चुरे क्षेत्र संरक्षणसम्बन्धी १/१ वटा आयोजना रहेका छन् ।
मन्त्रालयगत रुपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा १० वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ६ वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५ वटा एवम् रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रमा पर्ने १/१ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेनालाई काठमाण्डौ–तराई मधेस द्रुतमार्ग सडक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी प्राप्त भएको छ भने कालीगण्डकी करिडोर र कर्णाली करिडोरको केही खण्डमा पनि नेपाली सेनाबाट काम भइरहेको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य
राष्ट्रिय गौरवका प्रत्येक आयोजनाहरुको आयोजनागत उद्देश्य फरक फरक भएपनि समग्रमा राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य साझा जस्तै हुने गर्छन् । जसमा समृद्ध नेपालको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत् कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, पूर्वाधारको विकासमार्फत् सघन अन्तरआबद्धता बढाउने, सांस्कृतिक सम्पदाको संवद्र्धन तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लगायत रहेका उद्येश्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया