समृद्धिका लागि प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता आवश्यक छ : प्रचण्ड

लोकपथ
7
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकास र समृद्धिको लागि प्रतिगमन विरोधी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।

बिहिबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, समृद्धि र संविधानको रक्षाको निम्ति प्रतिगमनविरोधी शक्तिहरु बिचमा एकताको आवश्यकता रहेको बताए । ‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकताबद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ ।’ उनले भने, ‘देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमनविरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो ।’

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनभित्र चल्ने अन्र्तसंघर्षले पार्टीको विकृतिलाई किनारा लगाउने भन्दै ती विकृतिहरु गैरकम्युनिष्ट पश्चगामी प्रवृतिको रुपमा मूलप्रवाहबाट बाहिरिने समेत बताए । ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्र्तसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति – विसंगतिलाई संघर्षको माध्यमबाट किनारा लगाउने गरेको छ । यी विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीको रुपमा घोर प्रतिगामी प्रवृति देखा परेको छ ।’ उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?