काठमाडौं । जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको समूह चरणको अन्तिम खेलमा मलेसियाले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको छ
आज बिहीवार त्रिवी क्रिकेट मैदानमा हुने समूह चरणको अन्तिम खेलमा अहिले १:१५ बजे मलेसिया र नेपाल आमने सामने हुँदै छन् ।
नेपालले यस अघिका तीन खेल मध्ये दुई खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको थियो। सो खेलहरु नेपालले जित्न सफल पनि भएको थियो भने, नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ रोजेका थिए।
सो खेलमा नेपालले २०६ रनको विशाल योगफल तयार गर्दा पनि नेदरल्याण्ड्सलाई जीत सुम्पेको थियो। नेपाल आजको खेलमा विजयी भएको खण्डमा समूह चरण विजेता बन्ने छ भने, प्रतियोगिता बाट बहिरिसकेको मलेसिया आफ्नो इज्जतको लागि खेल जित्न मैदानमा उत्रने छ।
सन्दीप लामिछानेले आज टी- ट्वेन्टी क्रिकेटमा १००औं खेल खेल्दै छन्। नेपालको लागि यो माइलस्टोन हासिल गर्ने सन्दीप पहिलो खेलाडी हुन् । आज नेपालको स्टार्टिङ ११ मा दुई परिवर्तन छन् ।
नेपालका मुख्य प्रशिक्षक डेव वाटमोरले आजको खेलमा अभिनश बोहोरा र साहब आलमको ठाउँमा कमल ऐरी र सुसन् भारीलाई खेलाउने निर्णय गरेका छन्। मलेसियाले हिजो सम्पन्न खेलमा नेदरल्याण्ड्स विरुद्ध जीत निकाल्न नसकेको हुँदा नेपाल र नेदरल्याण्ड्सले फाइनलको यात्रा तय गरिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया