काठमाडौं । जारी ट्राई नेसन्स टी-ट्वान्टी क्रिकेट सिरिजमा आज (बिहीवार) खेलिएको नेपालविरुद्ध मलेसियाको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।
पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि करन केसीले सर्वाधिक ४५ रन बनाएका थिए। उनले १३ बल सामना गर्दै ७ छक्का प्रहार गरेका थिए। त्यसै गरी कप्तान ज्ञानेन्द्र मल्लले ४१, आशिफ शेखले ४२ र उप कप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिएका थिए।
जवाफी ब्याटिङमा मलेसिया १९.१ ओभरमा १४८ रनमा समेटिन पुग्यो । मलेसियाका लागि अमिनुद्दिन रम्लीले सर्वाधिक ४१ रन बनाए भने कप्तान अहमद फैजले ३१ रनको योगदान गरे ।
नेपाली बलिङमा सोमपाल कामी, सन्दिप लामिछाने र कमल ऐरीले ३-३ विकेट लिन सफल भए । सोमपालले आफ्नो व्यक्तिगत ४ ओभरमा १ मेडन सहित २० रन मात्र दिए। देव्युटान्ट कमल ऐरीले पनि उत्कृष्ट बलिङ गरे। उनले ३.१ ओभरमा १६ रन दिएर ३ विकेट लिए । त्यसै गरी आफ्नो १००औं टी ट्वान्टी खेलमा सन्दीपले आफ्नो ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।
यो जीतसँगै नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट शृङ्खलाको समूह विजेता बनेको छ। नेपालले आफ्नो ४ खेलमा ३ जीत र १ हार सहित ६ अंक बटुलेको छ । दोस्रो स्थानमा ५ अंक सहित नेदरल्याण्ड्स छ भने मलेसियाले कुनै पनि जीत बिना यो प्रतियोगिता अन्त्य गरेको छ ।
त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल पर्सी (शनिवार) आयोजक राष्ट्र नेपाल र नेदरल्याण्ड्स बीच त्रिवी मैदानमा अपरान्ह १ः१५ बजे खेलिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया