भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना : भौतिक प्रगति ४० प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना एक महत्वपूर्ण आयोजना हो ।

यो आयोजना हालसम्म समष्टिगत ४० प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै,समष्टिगत वित्तीय प्रगति भने ३५ प्रतिशत भएको छ । यो आयोजना आर्थिक वर्ष २०६८/६९ मा शुरु भएको थियो भने आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, यस आयोजनाको कुल लागत १६ अर्व ४३ करोड रुपैयाँ रहेको छ । २०७५ मा खरिद गुरूयोजनाको पहिलो संशोधन गरेसँगै यसको संशोधित कुल लागत ३३ अर्ब १९ करोड पुगेको छ । आयोजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ३१ करोड विनियोजन भएको थियो । जसमा २ अर्ब ९ करोड रुपैँया खर्च भएको छ ।

आर्थिक वर्ष २०७९/८० सम्म भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने तथा यसबाट ४६.८ मेघावाट बिजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको मुख्य उदेश्य रहेको छ ।

यो आयोजना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विभाग मातहत राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयनमा रहेको नेपालको पहिलो बहुउद्देश्यीय तथा अन्तर जलाधार स्थानान्तरण आयोजना हो । यो आयोजना सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिकामा अवस्थित छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पर्याप्त पानी उपलब्धता भएको भेरी नदीको पानी अन्तर जलाधार जल स्थानान्तरणको माध्यमबाट पानीको अभाव भएको बबई नदीमा स्थानान्तरण गर्ने बहुउद्देश्यीय आयोजना हो ।

सुर्खेत, बर्दिया र बाँके जिल्लालाई समेटेर ऊर्जा, सिँचाइ र जलाधार संरक्षणलाई एकसाथ योगदान पुर्‍याउने  लक्ष्यका साथ यस आयोजना शुरु गरिएको हो । यस आयोजनाबाट भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानी ४.२ मिटर व्यास र १२.२ किलोमिटर लामो सुरूङबाट बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । साथै नियमित रुपमा ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । यस आयोजना सम्पन्न भए पश्चात बाह्रै महिना सिँचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब रूपैयाँ अप्रत्यक्ष र विद्युत बापत ४.० अर्ब रूपैयाँ प्रत्यक्ष गरी वार्षिक ७.१ अर्ब रूपैयाँ फाइदा हुने अनुमान गरिएको छ ।

आयोजनाको क्रमागत विकासक्रम

जापानी सहयोग नियोग (जाइका)ले सन् १९९२ मा कर्णाली र महाकालीको गुरू योजना तयार गर्ने क्रममा प्राथमिकता प्राप्त आयोजनाको रुपमा यस आयोजनालाई राखेको थियो । यो आयोजनाको सन् १९९८ मा जाइकाले सम्भाव्यता अध्ययन गरेको थियो । सन् २००८ मा तत्कालीन सिँचाइ विभागबाट कार्य गर्ने गरी नेपाल सरकारबाट निर्णय भई कार्यालय स्थापना भएको थियो । त्यस्तै,सन् २०१२ मा यस आयोजनाको विस्तृत अध्ययन समाप्त भएको थियो । सो आधारमा ४जुन २०१५ मा सुरूङ निर्माण कार्य शुरु भएको थियो ।

के हो राष्ट्रिय गौरवका आयोजना ?

अर्थतन्त्रको जीवन रेखाका रुपमा रहेका र मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने, रणनीतिक महत्वका सडक, सिँचाइ, जलविद्युत्, विमानस्थल, रेल, खानेपानी, वन तथा पर्यटन क्षेत्रको आधार शिलाका रुपमा रहने, ठूला पूर्वाधारजन्य आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ।

नेपालको अर्थतन्त्रलाई गतिशील एवं थप विस्तार गरेर अतिकम विकसित स्तरबाट विकासोन्मुख हुँदै विकसित राष्ट्रको स्तरमा पुर्‍याउने राष्ट्रिय आकांक्षालाई मूर्तरुप दिन सहयोग पुर्‍याउने उदाहरणीय आयोजना नै राष्ट्रिय गौरवका आयोजना हुन् । मुलुकको आर्थिक विकास, सामाजिक रुपान्तरण, रोजगारी सिर्जना, पूँजी निर्माण र प्रादेशिक सन्तुलनमा यी आयोजनाहरु कोसेढुंगा सावित हुनेछन् । यी आयोजनाहरुमा रुपान्तरणकारी, रणनीतिक महत्व र उच्च राष्ट्रिय प्राथमिकता आदि विशेषताहरु रहेको पाइन्छ।

राष्ट्रिय गौरवका आयोजनाका प्रकार

हालसम्म मुलुकभरी २४ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । जसमध्ये सडक तथा रेलसम्बन्धी ७ वटा, सिँचाइ सम्बन्धी ६ वटा, जलविद्युत सम्बन्धी ४ वटा, विमानस्थल सम्बन्धी ३ वटा, धार्मिक तथा सांस्कृतिक सम्पदा सम्बन्धी २ वटा र खानेपानी एवं चुरे क्षेत्र संरक्षण सम्बन्धी १/१ वटा आयोजना रहेका छन् ।

मन्त्रालयगत रुपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा १० वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ६ वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५ वटा एवं रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रमा पर्ने १/१ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेनालाई काठमाण्डौ–तराई मधेस द्रुतमार्ग सडक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी प्राप्त भएको छ भने काली गण्डकी करिडोर र कर्णाली करिडोरको केही खण्डमा पनि नेपाली सेनाबाट काम भइरहेको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य

राष्ट्रिय गौरवका प्रत्येक आयोजनाहरुको आयोजनागत उद्देश्य फरक – फरक भएपनि समग्रमा राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य साझा जस्तै हुने गर्छन् । जसमा समृद्ध नेपालको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत् कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, पूर्वाधारको विकासमार्फत् सघन अन्तर आबद्धता बढाउने, सांस्कृतिक सम्पदाको संवद्र्धन तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लगायत रहेका उद्येश्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?