काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को बिहीवार खेलिएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ । १७८ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोरले बिना विकेटको क्षतिमा २१ बल अगावै खेलमा बाजी मारेको हो ।
बैंगलोरको जीतमा ओपनर देवदत्त पादिकलले शतक प्रहार गरे । केवल २७ बलमा अर्धशतक प्रहार गरेका पादिकललाई रोक्न असम्भव देखिन्थ्यो । खेलको १७औं ओभरमा ५१ बलको सामना गर्दै पादिकलको शतक पूरा भएको थियो। उनी १०१ रनमा अविजित रहन पुगे ।
कप्तान विराट कोहलीले पनि देवदत्तसँग मिलेर उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। ७२ रनको अविजित पारी खेलेका कोहली आईपीएलमा ६००० रन पूरा गर्ने पहिलो खेलाडी बन्न पुगे ।
टस जितेर बलिङ रोजेको बैंगलोरको टोलीले राजस्थानलाई खेलको सुरुवात देखि नै दवावमा राखेको थियो । मोहम्मद सिराजले ओपनर जो बटलर र डेभिड मिलरलाई आउट गर्दा राजस्थानको स्कोर १८–३ थियो। शिवम् दुबे र राहुल टेवटियाले क्रमशः ४६ र ४० रन प्रहार गर्दा राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रनको योगफल खडा गरेको थियो ।
बैंगलोरका लागि मोहम्मद सिराज र हर्शल पटेलले सर्वाधिक ३–३ विकेट लिएका थिए । आफ्नो ४ खेलमा १२ विकेट लिन सफल रहेका हर्शल अहिले सम्म यस संस्करणका सर्वाधिक विकेट कर्ता हुन् ।
आफ्नो ४ खेलमा ४ वटै जीत निकालेको बैंग्लोरको टोली शीर्ष स्थानमा छ भने राजस्थान हिजोको हार संगै अंकतालिकाको पुच्छरमा झरेको छ ।
आजको खेलमा पंजाब किङ्स र मुम्बई इण्डियन्स चेपाकमा प्रतिस्पर्धा गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया