काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले आज शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा) र स्वयम्भूका पूजारी बुद्धाचार्य परिवारका १७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए ।
यस कार्यको लागि कर्मराज महाविहार (गुम्बा) का १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले आर्थिक भार ब्यहोरेका थिए । स्वयम्भू परिरसरमा सदियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य पूजारी परिवारका १७ वटा घरलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक सैलीमा निर्माण गरिएको छ ।
पुनर्निर्माण भएको महाविहार (गुम्बा) र घरहरु बैशाख १३ गते सोमवारका दिन सम्बन्धित महाविहार र घरधनीहरुलाई हस्तान्तरण हुने अध्यक्ष डङ्गोलले बताए । वि.सं. २०७५ पुस ३० गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुननिर्माण करिब २ वर्षको अवधिमा सम्पन्न भएको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया