काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको पहिलो खेलमा काठमाडौं रेजर्स एफसीले ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा बिना दर्शक शनिवार खेलिएको उद्घाटन ‘भ्याली डर्बी’ खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ६६औं मिनेटमा काठमाडौंका लागि क्यामेरुनियन खेलाडी मेसौके ओलुमौले प्रतियोगिताको पहिलो गोल गर्न सफल भए ।
खेलमा त्यसपछि कुनै गोल हुन नसकेपछि मिस्टर फ्ल्याश भनेर चिनिने ओलुमौको गोल निर्णायक गोल बन्न पुग्यो। क्लब फुटबलमा संकटा क्लबलाई प्रतिनिधित्व गरिसकेका ओलुमौले एनएसएलको पहिलो गोलकर्ताका रूपमा इतिहास रचे ।
खेलको म्यान अफ दि म्याच काठमाडौंका सञ्जोक राई र इमर्जिङ युवा प्लेयर काठमाडौंकै विश्वास श्रेष्ठ घोषित हुँदै क्रमशः २५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।
भोलि एनएसएलमा दुई खेल खेलिने छन् जसमा पहिलो खेलमा विराटनगर सिटी एफसी र धनगढी एफसी भिड्ने छन्। त्यसै गरी दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी आमने सामने हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया