काठमाडौं । पूर्वी युरोपेली मुलुक अल्बानियामा आइतवार संसदको चुनाव शुरु भएको छ ।
प्रधानमन्त्री एडी रामाले आइतवार बिहानै एक सन्देश जारी गर्दै स्वतन्त्र र भयरहित चुनावको वातावरण निर्माण गर्न सबैसँग आग्रह गरेका छन् । उनी पनि तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । प्रधानमन्त्री रामाले आफ्नो पार्टी सोसलिष्ट चुनावमा बहुमत नल्याए पद त्याग्ने घोषणा गरेका छन् ।
चुनावमा एक दर्जन विपक्षी दलहरुले डेमोक्र्याट्स नामको गठबन्धन बनाउँदै प्रधानमन्त्री रामालाई चुनौती दिँदैछन् । डेमोक्र्याट्सका नेता लुलजिम बाशाले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री रामाले दुई कार्यकालमा अल्बानियालाई बर्बाद गरेकाले अब उनलाई मौका दिन नहुनेमा जोड दिए ।
चुनावमा सहभागी सबै दल युरोपेली युनियनको सदस्यता लिने पक्षमा उभिएका छन् ।
जनमत सर्वेक्षणमा रामाको समाजवादी पार्टीले अन्य विपक्षीको तुलनामा अग्रता लिएको देखिएको छ ।
रामाप्रति रुष्ट देखिएका राष्ट्रपति एलिर मेटाले आइतबार सबेरै टिरानाको एक मतदान केन्द्रमा गई मतदान गरेका छन् ।
करिब २८ लाख जनसंख्या रहेको अल्बानिया युरोपकै सबैभन्दा गरिब मुलुक हो । कोरोनाभाइरस महामारीले अल्बानियाको अर्थव्यवस्था र जनजीवन निकै प्रभावित बनाएको छ । अल्बानियाको विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन क्षेत्रमा व्यापक गिरावट आएपछि देशकै अर्थतन्त्रमा असर परेको छ ।
प्रधानमन्त्री रामाले आगामी मे महिनाको अन्त्यसम्ममा करिब पाँच लाख अल्बानियालीलाई कोभिड विरुद्धको खोप दिइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया