- अनिता आचार्य-
जनताको शासनबाट जनताको जीवन फेर्नका लागि नेपालको खाका कोरिएको सुनौलो दिन हो बैशाख ११ अर्थात् लोकतन्त्रले विजयको झण्डा गाडेको दिन ।
ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामू निरङ्कुश राजतन्त्रले घुँडा टेकी जनताको नासो जनतालाई सुम्पेको दिनका रुपमा यस दिनलाई उत्सवका रुपमा लिईन्छ । नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त लोकतन्त्रकै जगमा टेकेर संविधान सभामार्फत् २०७२ असोज ३ गते संविधान जारी भएसँगै विभिन्न सामाजिक मुद्धाका सवालहरु पनि क्रमश अघि आए । तर लोकतन्त्रको १५ वर्षमा पनि सामाजिक मुद्धाहरु ज्यूँ का त्यूँ छन् ।
नेतृत्वले परिवर्तन गर्छु भनेर लडाईँमा लगेका वा हातमुख जोर्नसम्म नसक्ने वर्गले १५ वर्षमा के पाए ? उही गरिबी । उहि अन्यौलता । उस्तै उपेक्षा ।
देशको सर्वाधिक जनसंख्या संलग्न भएको कृषि पेशामा जिविकोपार्जन खेती पद्धतिदेखि समाजको आर्थिक रुपान्तरणसम्मका मुद्धा अझैपनि ओझेलमा छन् ।
महिला भएकै कारण समान अवसर, समान ज्याला, समान हक पाउनबाट महिलाले वञ्चित हुनुपरेको छ । आज पनि एकल महिलालाई बोक्सीको नाममा मानव मलमुत्र खुवाउने, हिंसा गर्ने निकृष्ट सोच व्यवहार कायमै छ ।
जातिय आधारमा हुने विभेदको कालो छायाँले समाज अन्धकारमा डुबेकै छ । गएको वर्ष नवराजहरुको निर्मम हत्याले वर्तमान समाजको तितो ओकल्यो । जातियताका सवालमा १५ वर्षसम्ममा कति उधिनिएछ भन्ने यथार्थ बाहिर ल्याइदिएको छ ।
केहि समयअघि सामाजिक सञ्जाल टिकटकमा एक जना राउटे युवतीको सानो भिडियो क्लिप्स बाहिरीयो । अधिकाशं शिक्षित, साक्षर, जानकार र शहरीया भन्नेहरुबाटै सिमान्तकृत समुदायकी एक युवतिको हाउभाउ, लवाईखवाई र लवजमाथि गरिएको टिप्पणीले हाम्रो चेतनाको स्तर झल्काइदिएको छ ।
हो, बितेको १५ वर्षले हामीलाई ठूला सपना देख्न मात्रै सिकायो, तर त्यसलाई प्राप्त गर्ने वा कुनै न कुनै रुपमा पुरा गर्ने बाटोमा हामी लागेनौँ । न त नेतृत्वले नै त्यो बाटो देखायो ।
४ वर्ष अघिको कुरा हुँदो हो पंक्तिकार एक टेलिभिजन कार्यक्रमको छायांकनका लागि बारा जिल्लाको तेलकुँवा भन्ने ठाउँमा पुगेर बास बसेर भोलिपल्ट कार्यक्रमको छायांकनस्थलमा पुग्दा झसङ्ग हुनुपर्यो । कारण के थियो भने त्यस ठाउँमा अहिले पनि पोलियो थोपा खुवाउनुपर्छ भन्ने ज्ञान स्थानीयमा रहेनछ । शिक्षाको अभाव, स्वास्थ्य चेतनाबारे ज्ञान नहुनु, रोजगारी नहुनु, गरिबीले थिलोथिलो बनाएका उनीहरु ५ किलो धानको लागि बिहान झिसमिसेदेखि राती तारा लागेसम्म श्रम खर्चिन्छन् । यतिका श्रमकाबीच उनीहरुका बालबालिकामा कुपोषणदेखि, सरसफाईको अभावले निम्तीएका समस्याका कुरा गरिसाध्य छैन ।
के हामीले देखेको वा हामीलाई देखाइएको परिवर्तन यहि नै हो त ? टिठलाग्दो यो सवालमा जवाफ दिने तागत नेतृत्वसँग छैन । किनकी जनताको मत बटुलेर आरामदायी कुर्सीमा विराजमान शासक जनजीविकाका सवाल र समाजसँग सरोकार राख्ने मुद्धामा गम्भीर छैनन् ।
लोकतन्त्रको बलमा प्राप्त उपलब्धी संस्थागत हुँदै गर्दा जनताको अपेक्षा पनि उही ग्राफमा उकालो लागेको थियो । संविधानको मर्मअनुरुप नै जनताको सवाल र जायज मुद्धाहरुमा छलफल र परिवर्तनको सपना साकार हुने विश्वास गरियो । तर लोकतन्त्रले राजालाई निर्मलनिवास त पठायो तर श्रीपेचबिनाका राजाहरुको हाली मुहाली र रजगज यसरी चलेको छ कि उनीहरुलाई सामाजिक मुद्घालाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने जाँगर नै छैन । बरु जनतामा नकारात्मक र निराशाजनक स्थिती चिन्ताजनक रुपमा बढ्दो छ ।
न्याय सहितको आर्थिक सामाजिक रूपान्तरण भन्ने नारा भजाएर जनताको वाहवाही बटुल्ने र चटक्कै भुल्ने पुरानै प्रवृति यो १५ बर्षमा पनि दोहरियो ।
महिला, बालबालिका, जनजाती, दलित, पिछडिएका र सिमान्तकृत जनताका मुद्घालाई भगवानले होइन हामीले नै समाधान गर्नुपर्छ । हाम्रो समस्या सम्बोधन गर्न स्वर्गबाट भगवान आउँदैनन्, हामीले नै रुपान्तरणको मुद्घाको सहज हल खोज्नैपर्छ ।
भलै त्यसका लागि फेरि अर्को जनआन्दोलन नै किन गर्नु नपरोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया