- मदन नेपाल-
नेपालमा रोजगारीका लागि विदेश जाने क्रमले झनै गति लियो, ०६२/०६३ को जनआन्दोलनपछि । जबकी त्यो आन्दोलनको एउटा सन्देश थियो, देशमै रोजगारीको अवसर खोल्ने ।
गुजाराका लागि विदेशी भूमिमा रोजगारका लागि जान नेपाली युवालाई बाध्य नपारियोस् । जबकी यस्तो भएन । वैदेशिक रोजगारको तथ्याकं अनुसार दोस्रो जनआन्दोलनपछि हाम्रो युवा वर्ग मलेसियादेखि खाडी राष्ट्रहरुमा पुगेर कठोर श्रम गर्न बाध्य भए ।
उनीहरुले त्यहाँ गरेको श्रमले नेपालमा कि रेमिट्यान्स आयो कि उनीहरुको लाश। रेमिट्यान्स आउँदा खुसी भएको हाम्रो सत्ता कफिनमा नेपाली श्रमिकको लाश आउँदा भने कहिल्यै गम्भिर बनेन।
जन-आन्दोलनपछि निर्मित सरकारले आम युवाको सहि उपयोग नगर्नाले पनि वैदेशिक रोजगारीको क्रम नरोकिनु एक प्रमुख कारण हो । मुलुकमै रोजगारीको उचित व्यवस्था गरेर युवाशक्तिलाई देशमै परिचालन गर्नुको साटो सत्ता मोहमा लागेर स्रोत र साधनको उचित प्रयोग हुन नसक्दा यो क्रम झन् बढ्न पुग्यो।
सरकार बन्ने र ढल्ने अस्थिर सरकारका कारण विकास निर्माणले गति लिन सकेन । राजनीति संविधान बनाउनमै केन्द्रीत रह्यो । आन्दोलनमा लडेका युवापुस्ताले जे परिवर्तन आउला भन्ने सोचेका थिए, त्यो नहुँदा उनीहरुमा वितृष्णा पैदा हुन थाल्यो ।
स्वदेशमा केही विकल्प नपाएपछि विदेश पलायन नै उत्तम विकल्पका रुपमा देखे । देश उनीहरुले पठाएको रेमिटेन्सले चल्यो । तर देश चलाउने नेताले उनीहरुका बारेमा कहिल्यै सोच्न भ्याएनन्।
१० वर्षे सशस्त्र जनयुद्ध र जनआन्दोलन पछिका अस्थिर सरकारका कारण देशमा लगानीको वातावरण बनेन । फलस्वरुप रोजगारीका अवसर कम भए।
विगत लामो समयदेखि वैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका रामेश्वर नेपालका अनुसार मुलतः दुई कारणले नेपाली युवा विदेशीन बाध्य हुन्छन्, बेरोजगारी र गरिबी । नेपाल भन्छन्, ‘देशमा नै काम गर्ने वातावरण भए कोही पनि आफ्नो घरपरिवार छाडेर विदेश जाँदैनन।
नेपालका अनुसार, महिलाको हकमा भने घरेलु हिंसा, लैंगिक विभेद र पारिवारिक समस्याका कारण विदेशिने प्रचलन बढ्यो । सरकारले कतिपय मुलुकमा रोजगारका लागि जान नेपाली महिलालाई प्रतिबन्ध पनि लगायो । तर पनि अवैधरुपमा नेपाली महिला विदेश जाने क्रम भने रोकिएन।
नेपालको श्रम बजारमा प्रत्येक वर्ष ५ लाख जनशक्ति भित्रन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ३ वर्ष पुरा भईसकेको छ। सरकारका धेरै एजेण्डा मध्ये स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नु पनि एक हो । सरकारले कोही युवा रोजगारका लागि विदेशिनु पर्दैन भनेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएपनि त्यो हावादारी सावित भयो।
मागभन्दा आवेदन बढी हुँदा कार्यक्रममा सुचीकृत हुन नसकेका बाँकी युवाको अन्तिम उपाय देश छोड्ने बनेको पाइन्छ । त्यस्तै सुचिकृत भएकाहरु पनि लगातार काम नहुनु, काम भए पनि न्युन ज्याला हुनुले पनि रोजगार कार्यक्रममा युवाले चासो दिएका छैनन् । सरकारले ल्याएका यस्ता युवा तथा रोजगार सम्बन्धी कार्यक्रम प्रभावकारी नहुँदा रोजगारको विकल्पका रुपमा वैदेशिक रोजगारी चुन्ने गरेको पाइन्छ।
यो अवधिमा भण्डै १५ लाख नेपाली विदेशिएको तथ्यांक छ। वार्षिक ५ लाख युवा विदेशिन्छन् । श्रम बजारमा भित्रने र विदेशिने आँकडा बराबर हुन् आउँछ।
नेपाल भन्छन्, ‘पाँचतारे होटेलमा बसेर सेमिनारमा बैदेशिक रोजगारका बारेमा हुने छलफल र त्यसका निर्णयले विदेशिने नेपाली युवाको सम्बोधन गर्न सक्दैन,’ नेपाल भन्छन्, ‘समस्याको जड खोज्न समाजमा नै जानुपर्छ ।’
सेमीनारबाट आउने खेतबारी बाँझो राखेर विदेशिने प्रवृत्ती बढेको भन्ने प्रतिकृयालाई नेपाल बौद्धिक विलासमात्र भएको भन्न रुचाउँछन् । भन्छन, ‘समाज कति गइरहेको छ भन्ने उनीहरुलाई थाहै छैन ।’
करिब एक वर्ष कोरोना भाइरसका कारण श्रम सम्झौता रोकियो । यो अवधिमा दक्षिण कोरियाको भाषा परिक्षा उत्तिणर् गरेका करिब दश हजार नेपाली युवा कोरिया जानबाट बञ्चीत छन् । कोरोनाकै कारण स्वदेश आएका नेपाली श्रमिक सम्झौता खुल्छ र जान पाइएला भनेर बसेका थिए । नत्र कोरोना जोखिमका बीच विदेशिन कोही किन आतुर हुन्छ र ?
आखिर हामीले यो १५ वर्ष युवालाई स्वदेशमै रोजगारको सपना देखायौँ । तर, त्यो सपना पुरा गर्नेतिर कहिल्यै गम्भिर बनेनौं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया