काठमाडौं । इन्डियन प्रिमियर लिग २०२१ को १९औं खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस जितेर मुम्बईको वाँखेडे स्टेडियममा ब्याटिङ गर्ने निर्णय गरेका महेन्द्र सिंह धोनीको टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रनको विशाल योगफल तयार पारेको थियो। रवीन्द्र जडेजाको प्रशंसनीय ब्याटिङको कारण चेन्नईले सो योगफल बनाउन सकेको हो ।
यस संस्करणका सर्वाधिक विकेट टेकर हरशल पटेलको अन्तिम ओभरमा जडेजाले ५ छक्का र १ चौकाका साथ ३७ रन जोडेका थिए। वाँखेडेको इतिहासमा १ ओभरमा बनाइएको सर्वाधिक रन बन्न पुग्यो जडेजाको यो योगदान। उनले आफ्नो पारीमा २८ बलको सामना गर्दै अविजित ६२ रन बनाउन सफल भए। चेन्नईको लागि फाफ डु प्लेसीले पनि ५० रनको योगदान दिएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको बैंगलोरको सुरुवात राम्रै भएको थियो। ३ ओभरमा बैंग्लोरले ४४ रन बनाइसकेको अवस्था थियो। वालिङमा पनि जडेजालाई रोक्न असम्भव देखियो। आफ्नो व्यक्तिगत ४ ओभरमा १ मेडेनका साथ जडेजाले ३ विकेट चटकाए । उनले बैंगलोरका स्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेल र एबी डेभिलियर्स दुवैलाई क्लिन बोल्ड गरिदिए ।
त्यसपछि बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १२२ रन बनाउन सक्यो। यसका साथै चेन्नई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस खेलका म्यान अफ दि म्याच रवीन्द्र जडेजा घोषित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया