काठमाडौं । नेपाल सुपर लिगको चौथौं खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरीको खेल खेलेका छन् ।
दशरथ रंगशालामा सोमवार साँझ खेलिएको खेलमा ललितपुर र चितवनले १–१ गोलको बराबरी खेल खेलेका हुन् । ललितपुरका कमल श्रेष्ठले दोस्रो हाफको सुरुवातमा गरेका गोललाई चितवनका अमित तामाङको गोलले फच्या गरेपछि खेल बराबरीमा सकिएको हो ।
पहिलो हाफको १९औं मिनेटमा ललितपुर सिटी एफसीले पेनाल्टी पाएको थियो । चितवनका गोरान जर्कोभिचले ललितपुरका निरज बस्नेतलाई डी बक्समा फल गरेपछि ललितपुरलाई रेफ्री प्रकाश नाथ श्रेष्ठले पेनाल्टीको सुनौलो अवसर प्रदान गरेका थिए ।
तर ललितपुरका कप्तान अन्जन विष्टको स्पट किकलाई चितवनका गोलरक्षक विशाल सुनारले उत्कृष्ट सेभ गरेपछि खेलको पहिलो हाफ गोल रहित सकिएको थियो ।
दोस्रो हाफको ४९औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाउन सफल भए । खेलको ९०औं मिनेटमा चितवनले पेनाल्टी पाएको थियो । अमित तामाङको प्रहारलाई ललितपुरका विनोद गुरुङले ह्याण्ड गर्दा चितवनलाई हार टाल्ने उत्कृष्ट मौका प्रदान गरियो । अमित तामाङले कुनै गल्ति नगर्दै चितवनलाई १–१ को बराबरीमा पुर्याए ।
यो बराबरी सँगै ललितपुरले २ खेलमा १ बराबरी र १ हार सहित १ अंकमा चित्त बुझाएको छ भने चितवनले आफ्नो पहिलो खेलमा १ अंक निकालेको छ । भोलि (मङ्गलवार)को खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी साँझ ५ः३० बजे दशरथ रंगशालामा आमने सामने हुँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया