काठमाडौं । सरकारले आगामी वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञालागू गरेसँगै काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कोरोना संक्रमणको दर बढेपछि काठमाडौं जिल्लामा जारी गरिएको आदेश अनुसार अब काठमाडौं प्रवेश गर्दा अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको हो ।
प्रमुख जिल्ला अधिकारीले जारी गरे अनुसार संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६को उपदफा ३ अनुसार आउदो १६ गतेदेखि काठमाडौं जिल्लाभर लागू हुनेछ ।
त्यस्तै हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना नियन्त्रणका लागि कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ।
बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ। बेठकले सीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रिपरिषदको बैठकले सीसीएमसीको सिफारिश अनुसार शहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी क्षेत्रमा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया