कोरोना कहर : सुस्तायो बैंकको ‘विजनेश’, घट्यो निक्षेप र कर्जा

लोकपथ
56
Shares

काठमाडौं-  केही समयअघि आक्रामक रुपमा विस्तार भएको बैंकहरुको व्यवसाय विस्तारै सुस्ताउन थालेको छ।

पछिल्लो केहि समय यता कोरोनाको दोस्रो लहर चलिरहेकाले बैंकहरुको व्यवसाय पनि विस्तारै घट्दै गएको हो । गत चैत मसान्तको तुलनामा बैशाख १० सम्म अधिकांश बैंकहरुको निक्षेप तथा कर्जा प्रभावित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले कोरोनाको संक्रमण बढेकाले केही मात्रामा व्यवसाय सुस्ताएको बताए । यसअघि सम्झौता भएका ऋण गईरहेको तथा नयाँ ऋणको माग नआएको उनले बताए । ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले नयाँ ऋणको माग आएको छैन ।’ उपाध्यक्ष उपाध्यायले भने । कर्जाको तुलनामा निक्षेप बढी मात्रामा घटेको उनको भनाइ छ । निक्षेपकर्ताहरुले लकडाउनको त्रासका कारण बैंकबाट निक्षेप निकालेकाले बैंकमा निक्षेप घटेको देखिएको उपाध्यक्ष उपाध्याय बताउँछन्।

संघको तथ्यांक अनुसार वैशाख १० सम्ममा बैंकहरुको निक्षेप संकलन ३९ खर्ब २२ अर्ब १३ करोड रुपैयाँ तथा कर्जा प्रवाह ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा एनएमबी बैंकले सबैभन्दा बढी ४ अर्ब ६९ करोड रुपैयाँले निक्षेप घटाएको छ भने तथा कर्जा प्रवाह तर्फ सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ७५ करोड रुपैयाँले घटेको छ ।

यस अवधिमा एनआइसी एशिया बैंकले निक्षेप र कर्जा दुबै बढाएको छ । यसैगरी, नेपाल एसबीआई बैंक निक्षेप वृद्धि गर्ने बैंकमा दोस्रोमा परेको छ भने कर्जा बढाउने दोस्रो नम्बरमा नबिल बैंक परेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत चैत मसान्तसम्म ३९ खर्ब ४४ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

अघिल्लो वर्षको फागुनदेखि सुरु भएको कोरोना संक्रमणका कारण लगानी गर्न नपाएपछि बैंकिङ प्रणालीमा २ सय अर्ब भन्दा बढी तरलता (लगानी योग्य रकम) थुप्रिएको थियो ।

कोरोना संक्रमणको प्रभाव कम भएपछि बैंकहरुको लगानी धामाधम बढ्न थालेको थियो । तर कोरोनाको दोस्रो लहर सुरु भएसँगै बैंकहरुको निक्षेप संकलन तथा कर्जा लगानी प्रभावित हुन थालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?