दिवस खनिया-
मास्क भनेर उच्चारण समेत गर्न नजान्नेले पनि मास्कको महिमा थाहा पायो र लायो पनि। क्रुर समयले सास्तीसहित सिर्जना गरेको कोभिड-१९ का लागि अचूक अस्त्र र उपायको भरपर्दो औजार नै मास्क। राम्रा-नराम्रा, साना-ठूला, हाकिम-पिएन, गरिब-धनी, चोर-चन्डाल, मास्टर-मिनिस्टर सबैका मुखमा एकतमासले झुण्डिरहेको छ मास्क । यसका आविष्कारक र परिकल्पनाकारलाई पनि मान्नै पर्छ । त्यो नभएको भए यो ज्यान नरहने । अनाहकमा फसादमा फसिन्थ्यो या त घरमै बसिन्थ्यो । मास्क छ र त दायाँबायाँ रल्लिन हल्लिन पाएका थियौँ ।
धुलो धुवाको उग्र रुपले हामीले लिने अक्सिजन ग्रहणयोग्य हुँदैन । त्यसमा महामारीका जिवाणु तैरिरहेका हुन्छन् । फोक्सोलाई सुरक्षित राख्न सचेत मानवले नाकमुख ढाक्ने गरी मास्क लगाएका हुन्छौं । नत्र भने भइराखेको राम्रो म्वाइँ खाने थुतुनु छोपेर हिँड्न कसलाई रहर लाग्छ र रु महामारी वायुप्रदूषणले ज्यानै जोखिममा पर्छ भने त्यसमा ध्यान पनि दिनै पर्योा। आ-आफ्ना प्वाल सबैले बन्द गर्नुपर्छ। मानिसका शरीरमा धेरै किसिमका प्वालहरु हुन्छन्। घुस, जुस खाने प्वाल, कमिसन, नाफा, कमाइ खाने प्वाल, देश खाने प्वाल, मलमुत्र विसर्जन गर्ने प्वाल, देख्ने प्वाल, सुन्ने प्वाल, प्वालै प्वाल। प्वालकै पछि लागेर कतिपयले आफ्नो सहस्र जिन्दगीलाई नै प्वालमा समाहित गरेका हुन्छन् ।
जे होस् प्वालै पिच्छेका फरक फरक स्वाद लिने क्षमता हुन्छ प्वालमा। विषम परिस्थितिमा आफ्ना ती सबै प्वालमा मास्क लगाएर ढाक्नु पर्छ। आफ्ना थान्कामा राख्नु पर्छ। अड्कलेर खानु पर्छ र खाने मौकामा मात्र प्वाल खोल्नु पर्छ नत्र प्वालबाट प्रदूषण भित्रिन सक्छ। दूषित वायुले आयु घटाउन सक्छ। सिंगो ज्यान संकटमा पर्न सक्छ त्यसैले हामी जानीजानी, छानीछानी राम्रा राम्रा मास्क लगाउने गर्छौँ । मास्क निकालेर नै माहुर चाट्ने र म्वाइँ खाने गर्छौँ । खाना, दाना, खप्लक्क निल्यो अनि मास्कले ढपक्क ढाक्यो क्यानन्द ।
मास्कधारी प्वालबाट चाहि हावा,किटाणु भाइरस छिरेर सोझै फोक्सोमा ठक्कर खान्छ र त्यसले स्वस्थ, तन्दुरुस्त शरीरलाई कुटुकुटु खान थाल्छ। फोक्सोको फुल्ने, फक्रिने क्रिया प्रक्रिया हावाकै कारणले हुन्छ। स्वास उत्पादन गर्ने फोक्सोलाई स्वच्छ पवित्र कञ्चन पवनको जरुरत पर्छ। त्यसैले बुद्धिमानी मान्छेले स्वच्छ हावा फोक्सोमा पैठारी गर्नकै लागि नाक मुखमा ढपक्क मास्कले ढाक्ने गर्छौँ। यसरी थुतुनु र सिँगाने प्वाललाई मास्कले छोपेर थान्को लगाउने चलन प्रदूषणको प्रादूर्भाव भएपछि नै सुरु भएको हो।
प्रदूषण धुलो मैलोमा मात्रै होइन प्राणीको घ्याम्पे थैलोमा पनि हुन्छ। मान्छे मान्छेमा पनि व्यापक प्रदूषण हुने भएको हुनाले हामीले मानवको सम्मुख पर्दाखेरि वा परिन्छ कि भन्ने पिरलोले नाकमुख छोप्ने गर्छौं। यसो गर्दा रोग आदानप्रदान हुने सम्भावना न्यून रहन्छ। खाँट्टी रोग सर्न र मर्नबाट बच्न सकिन्छ। प्रदूषण सर्नुलाई मान्छेले निको मान्दैनन्। रोगबाट संक्रमण भैहाले पनि तातैताताबाट तात्तातै उपचार गर्नु तातै खानु तातै लगाउनु बुद्धिमानी ठहर्छ। बुद्धिमानी भद्रभलादमी सुकिला मुकिलाले त्यसै गरी राखेका छन् तसर्थ रोग सर्ने,मर्ने बिरामी पर्ने केही मत्थर भएझै लागिरहेको छ।
मान्छेका मुखबाट हराएर गाई गोरु पशुमा सीमित थियो मास्क÷मुखन्डा तर आज मानवमै फर्कियो। मनपरि खानाले महामारीलाई निम्ता दियो। यसैले महामारी झनै मौलायो। सरकारले पनि मास्क खेती गर्नेलाई राहत, अनुदान, दान, महादान दिनसम्म दिएको छ। त्यसैले मास्कका मालिकहरु मान्छेलाई मास्क किन नलगाएको भन्दै धकेल्दै,थर्काउँदै हिँड्छन्। किनकि तिनीहरुसँग मास्क छ। पावर र पैसा छ । अरु व्यापार,व्यवसायीहरु धारासायी भएका छन्। निन्याउरा निरीह छन्। त्यसैले पक्कै पनि धक्का खान्छन्। यस महामारीले यो लेख तयार हुँदासम्म लगभग २० लाख मानव चोला खोलामा गइसके भने पचास लाख मानव मर्ने अनुमान गरिएको छ। म पनि लाइनमा छु। स्वर्गबास हुने त भए भए मस्त मास्क बेच्नेहरूचाहिँ स्वर्गीय आनन्दमा उग्राइरहेका छन्। जसरी सरकारी कार्यालयमा हुलाक टिकट नटासी वरको सिन्को पर सारिँदैन त्यस्तै मास्क रहित मानव सर्वत्र प्रतिबन्धित छन्।
बाटाघाटामा समेत प्रवेश निषेध गरिएको छ भने निषेधज्ञा तोड्न पनि साथमा मास्क त बोक्नै पर्योा। एउटा हराए फाटे थोत्रिए वैकल्पिक मास्को जोहो जगेडा पनि गरौं। सुत्ने सिराने मुनि परिवार नियोजनको अस्थायी साधन मात्र होइन मास्क पनि राखौं। डाइनिङ हल बैठक कोठा, भान्साको थाल राख्ने ठाउँमा समेत मास्क थाक लगाएर राखौं। पर्स, पाइन्ट, गोठ, ओठ, भकारो, भकारीदेखि लडाइ हर्क बडाइँमा समेत मास्क मुख्य साधन स्रोत बन्न गएको छ। खुसी उन्माद, भोक, शोक खुद्रा थोक जता पनि मास्कको महत्त्व र महिमा थाहा भएको हामीले देखिरहेकै छौँ। सन्तको मुखमा पनि मास्क, जन्तको मुखमा पनि मास्क, सेवकका मुखमा पनि मास्क, मेवकका मुखमा पनि मास्क।
फुस्रा खस्राको मुखमा पनि मास्क, चिल्ला चाप्ला सुकिला मुकिलाका मुखमा पनि मास्क। सासै फेर्न नसक्ने दमग्रस्त धम्कीका मुखमा पनि मास्क हासिरहेको हुन्छ। यी सबै मास्कमय वातावरण देख्दा लाग्छ मास्क रहित जिन्दगी के जिन्दगीरु सबैले एकमुखले मास्क लगाउने भएपछि मास्कका मामिलामा दुई मुख हुने त कुरै भएन नि। त्यसैले मास्क वरहित परहित जे जस्तो जस दिए पनि मान्छेका लागि सस्तो भए पनि मूल्यवान् अविनार्य र अनिवार्य मान्नु पर्छ।
बरु श्रीमती छोड्नु मनासिब होला तर महामारीमा मास्क छोड्नुहुँदैन। एउटै मोटरसाइकलमा श्रीमान् श्रमिती बस्नु नहुने बसको सिटमा सँगै बस्नु नहुने, कसैले कसैलाई छुन नहुने,श्रीमानले श्रीमतीलाई सुम्सुम्याउनु नहुने भएपछि परिवार नियोजनको काम पनि कारोनाले नै गर्ने भयो। छुन नभएपछि सृष्टि सिर्जनामा ठप्प बिर्को लाग्यो । तै पनि भैराखेको जिउँदो ज्यानलाई बचाउन महामारीमा कसरी बच्ने भन्ने शिक्षा महामारीले नै दिएको छ। विषम परिस्थितिबाट उम्कने कला पनि महामारीले नै सिकाएको छ । आक्कल झुक्कल कसैका सन्तान भैहालेछन् भने पनि महामारीमा जिउने पिउने कला सिक्नेछन् । हरेक कठिन परिस्थितिको सामुन्ने पर्न र सामना गर्न सिक्न सक्नु पनि बुद्धिमानी मान्छेको ह्याउ, हैसियत र खुबी भित्रै त पर्छ होला नि ?
माक्सले महामारी मात्रै छेक्दैन । यसले त चित्त नपरेकोलाई पनि छेक्न सक्छ। साहू महाजनको ऋण, कर्जाबाट पनि सजिलै सुरक्षा दिन्छ। शत्रुको त झन अनुहार नहेर्न नदेखाउन पनि मिल्छ। मन परेका असली, दानी आए मास्क खोल्ने बुद्धि बंगारो देखाउँदै बोल्ने हाँस्ने अगतीला साहू, शत्रु, सुराकी, सुरक्षाकर्मी आए मास्कलाई फैलाएर आँखाको नानी मात्र पनि खुल्ला राख्न सकिन्छ। भगवानले छप्पर फोरेर दिएको यस्तो बहुउपयोगी मास्कलाई विश्वले कहिल्यै मानव मुखबाट विस्थापित नगरोस्। मानवीय मास्क मौलाएर फैलिएर नाक मुखमा मात्रै होइन अब डाँडाकाँडा नै ढाकोस्।
एकताका काठमाडौंको वायु प्रदूषणले नेटो काट्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नै बोलीले जनताको मुखमा बुजो लाग्ने किसिमले भाषणमा भन्नु भएको थियो ‘काठमाडौं कन्चन भयो यहाँ मास्क लगाउने मान्छे नै छैनन् र जसले मास्क लगाउँछ ऊ सत्ता विरोधी हो । अहिले यसमध्ये महामारीमा पनि सत्तामा सुत्नेहरूले जनताले मास्क नै नलगाइदिए हुने थियो भन्छन् कि भन्ने लागिरहेको छ । सत्ताको उन्मत्त स्वादमा शासकहरु यसलाई नो भन्न पछि पर्दैनन्। आफ्नो भद्दा शासन शैलीलाई स्वर्णयुग सावित गर्न मुन्टाले टेकेर लागिपर्छन्।
अहिले विश्वव्यापी रूपमा बालबृद्ध, अपांग तरुनी तन्नेरी धनी, गरीब, सबैका मुखमा गक्ष र लक्ष्य अनुसारका गरौं, हल्का, महँगा, सस्ता, रंगी विरंगी थरिथरिका मास्क एकतमासले फहराई रहेको देख्दा कोरोनाको जन्डी ओखती नै मास्क हो कि जस्तो लागिरहेको छ। तमाम नागरिकका मुखमा माम बरु छुट्ला मास्क छुट्ने छाँटकाट देखिँदैन। मरेका मान्छेका मुखमा पनि मास्क देख्दा कुन दिन आफ्नो धड्कनले पनि आफूलाई यसै गरी चड्कन लगाउने हो भन्दै रन्थनाएर दारा किटिरहेको छु। कस्तो कालो कलविष समय। रातिको सुताइमा पनि मास्क, बिहानको उठाइमा पनि मास्क, हिँडाइमा मास्क, बसाइमा मास्क, खाजामा मास्क, भातमा मास्क, तिउन, पिउन, लिउन, सिउन, जिउन सबैका मुखमा मास्क। मास्क मानव मुख र बस्तीमा यत्रतत्र सर्वत्र देख्न पाइन्छ– त्यसैले आफू त नलगा भने पनि मास्क लाइन्छ। जय मास्क ! जिन्दावाद मास्क !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया