काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिवार) भएको दोस्रो खेलमा विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसीले २-२ गोलको रोमाञ्चक बराबरी खेल खेलेका छन्।
खेलको ६औं मिनेटमा नै ओमोलाजा करिमले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए। खेलको ४२औं मिनेटमा विराटनगरका स्पेनिश स्ट्राइकर पेड्रो मान्जीले उत्कृष्ट गोल गर्दा पहिलो हाफ बराबरीमा सकियो।
दोस्रो हाफको ६८औं मिनेटमा बुटवलले खेलमा पुनः अग्रता लियो। लक्ष्मण रूचालको ‘लेफ्ट फुटेड’ भलीले जाली चुमेपछि खेलमा बुटवलले २-१ को अग्रता हासिल गर्यो।
निर्धारित ९० मिनेटको खेलको इन्जुरी समयमा विराटनगरले खेललाई रोमाञ्चक बराबरीमा ल्याउन सफल भयो। ९३औं मिनेटमा सन्तोष तामाङको फ्रीकिकलाई बुटवलका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठले ‘जज’ गर्न नसक्दा खेल २-२ को बराबरीमा सकियो।
विराटनगरका उप-कप्तान पेड्रो मान्जी खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। त्यस्तै बुटवलका सुमन लामा ‘इमर्जिङ प्लेयर’ चुनिए।
यो बराबरीसँगै अंक तालिकामा बुटवल र विराटनगर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया