चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं । सुनसरी र रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी, गढी गाउँपालिका-२ औरावनी झोडाका ६० वर्षीय रघुनाथ यादव रहेका छन् । उनलाई शनिवार खेतमा अबिरल वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो ।

त्यसैगरी रोल्पा, रुन्टिगढी गाउँपालिका-९ पलासेनी बस्ने चित्रभान नेपालीकी छोरी १२ वर्षीया सुस्मा नेपालीको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै बारीको डिलमा काफल खान गएको अवस्थामा चट्याङ पर्न जाँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

साथै सोही चट्याङमा परी घाइते भएकी चित्रभानकै छोरी १३ वर्षीया सुस्मिता नेपालीलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरी हुँदै थप उपचारको लागि राप्ती विज्ञान प्रतिष्ठान घोरहीतर्फ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?