धनगढी । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलले कोराना रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकार पूर्णत असफल र गैर जिम्मेवार भएको ठहर गरेको छ ।
शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरुको स्थापना, शैया संख्याको बृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्न प्रदेश सरकार र संघीय सरकार उदासिन र गैर जिम्मेवार भएको आरोप लगाए ।
नेता रावलले कोरोना संक्रमणले भयावह रुप लिदा पनि प्रदेश सरकार र संघीय सरकार आपसी द्धन्दमा व्यस्त रहनु वा नागरिकको जीवन रक्षाका लागि उदासिन हुदा यस्तो अवस्था सृजना भएको बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु यो समयमा पनि जिम्मेवार नहुनुले यहाँका नागरिकले सरकार र अभिभावक बिहिन महशुस गरिरहेको गुनासो गरे। पत्रकार सम्मेलनमा बोल्दै रावलले भने, ‘प्रदेश सरकार यतिबेला पनि नागरिकको जीवन रक्षा भन्दा पनि कमिसन र भ्रष्टाचारका योजना बाडफाँडमा तल्लिन रहनु दुर्भाग्यपूर्ण कुरा हो।’
सीमाबाट भित्रिने हरेक नागरिकको नाकामै स्वास्थ्य परीक्षण गर्न र पोजेटिभ देखिएकालाई उपचार र अन्यलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरे। उनले सुदूर पश्चिमका नौ वटै जिल्लामा भेन्टिलेटर र आईसियु समेतको उपचारको व्यवस्था अविलम्ब गर्नु पर्ने बताए। सञ्चालनमा नआएका आईसिुय र भेन्टिलेटरलाई तत्काल सञ्चालन गर्न आग्रह गरे।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा तत्काल चिकित्सक र स्टार्फ नर्सको संख्या थप गर्न आग्रह गर्दै नेता रावलले भने, ‘सुदूरपश्चिमका सम्पूर्ण अस्पतालहरुमा अक्सिजनको आपूर्ति तत्काल हुनु पर्छ।’
पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले गेटा मेडिकल कलेज र आयुर्वेदिक अस्पतालाई कोरोना अस्पतालका रुपमा प्रयोग गर्नु पर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया