दाङको बेलझुण्डी अस्पतालमा अक्सिजनको अभाव

दाङ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पुर्‍याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए ।

अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब शय्या थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि नेपाल संस्कृत विश्वविद्यालयले दिन मानेको थिएन तर केही दिनदेखि बिरामी अस्पतालमा खचाखच भरिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित स्थानीय तहका प्रमुखको विशेष पहलमा विश्वविद्यालयले माथिल्लो तला प्रदान गर्ने सहमति गरेपछि आजदेखि शय्या थप्ने कार्य भइरहेको व्यवस्थापक ओलीले बताए ।

उनका अनुसार ६५ शय्या थपिने छन् । उक्त शय्या थपिएपछि करिब ३०० अक्सिजन सिलिण्डर आवश्यक पर्छ । त्यसका लागि स्थानीय तहसँग सिलिण्डर उपलब्ध गराउन माग गर्दै आएको उनको भनाइ छ । “शय्या मात्रै थपेर हुँदैन्, शय्यासँगै अक्सिजन सिलिन्डर पनि थप्नु पर्छ”, उनले भने, “त्यसका लागि हामीले स्थानीय तहसँग शय्या सङ्ख्या थप गरिदिन माग गरेका छौँ ।”

पाँच बिरामीलाई बाहिरै राखेर उपचार

प्रयाप्त शय्या नहुँदा अहिले पाँच बिरामीलाई अस्पताल बाहिर राखेर उपचार थालिएको छ । उनीहरुलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको व्यवस्थापक ओलीले बताए । शय्या अभाव रहँदा व्यवस्थापनमा निकै चुनौती हुने गरेको उनको भनाइ छ । धेरै सङ्क्रमितलाई राख्न भनि फोन आउने गरेको भए पनि शय्या नहुँदा निकै समस्या हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?