काठमाडौं। केइरन पोलार्डको उत्कृष्ट ‘अलराउन्ड’ प्रदर्शनमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको छ।
२१९ रनको लक्ष्य बोकेर ब्याटिङमा उत्रेको मुम्बईको सुरुवात राम्रो रह्यो। ओपनरद्वय कप्तान रोहित शर्मा र क्विन्टन डे ककले ७१ रनको पहिलो विकेट साझेदारी जोडे। त्यसपछि मुम्बईको महानायक बने पोलार्ड।
३४ बलमा अविजित ८७ रन प्रहार गरेका पोलार्डले ६ चौका र ८ छक्का प्रहार गरे। लुंगी एनगिडीले गरेका खेलको अन्तिम ओभरमा मुम्बईलाई जितको लागि १६ रनको आवश्यकता थियो। पहिलो बलमा एक रन ठुक्राएर पोलार्डले ‘स्ट्राइक’ आँफै राख्न चाहे र त्यसपछिको ५ बलमा १६ रन बनाउँदै खेल मुम्बईको पोल्टामा पार्न सफल भए। यो जित मुम्बईको आईपीएल इतिहासमै सबैभन्दा ठूलो ‘रन चेज’ हो। यस अघि मुम्बईले सन् २०१७ मा पंजाबको १९९ रनलाई पछ्याएको थियो।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रनको विशाल योगफल तयार पारेको थियो। मोइन अली र फाफ डु प्लेसीले अर्धशतक बनाउँदा चेन्नईको टोली बलियो देखिन्थ्यो। त्यसपछि ४ रनको अन्तरालमा ३ विकेट गुमाएको चेन्नईको बचावमा आए पूर्व मुम्बईका खेलाडी अम्बती रायुडु। रायुडुले विस्फोटक ब्याटिङको नमुना देखाए। उनले २७ बलमा अविजित ७२ रन प्रहार गर्दा चेन्नईले २१८ रनको योगफल तयार गरेको थियो। मुम्बईका लागि पोलार्डले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए।
आफ्नो उत्कृष्ट ‘अलराउन्ड’ प्रदर्शनका लागि पोलार्ड खेलको ‘म्यान अफ दि म्याच’ पनि चुनिए। यस जितसँगै मुम्बईले ८ अंक जोडेको छ भने चेन्नईको ५ खेलको अनबिटन रन पनि तोडेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया