लिग १ : दुई ब्राजिलियनको गोलमा पीएसजीको जित, लिल शीर्ष स्थानमा यथावत

काठमाडौं।  लिग १ मा गए राती खेलिएको खेलमा साविक विजेता पीएसजीले लेन्सलाई २-१ गोलले पराजित गरेको छ। ब्राजिलियनद्वय नेयमार र मारक्विनोसको गोलमा पीएसजीको जित पक्का भएको हो।

घरेलु मैदान ‘पार्क डे प्रिन्सेसमा’ खेलिएको खेलको ३३औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएको थियो।

दोस्रो हाफको ५९औं मिनेटमा कप्तान मारक्विनोसले पीएसजीको अग्रता दोब्बर बनाए। नेयमारको कर्नर किकलाई गोलमा परिणत गर्दा पीएसजीले दोस्रो गोल थपेको हो।

तर खेलको ६१औं मिनेटमा लेन्स खेलमा फर्कियो। स्ट्राइकर गोनागोले ‘क्लोज रेन्जबाट’ गोल गर्दा लेन्सले १ गोल फर्काउन सफल भएको हो।

गत बुधवार म्यानचेस्टर सिटीसँग आफ्नै घरेलु मैदानमा हार भोगेको पीएसजीले त्यसपछि खेलमा राम्रो पकड़ बनायो र खेल २-१ ले आफ्नो पक्षमा पार्यो।

आफ्नो ‘स्टार’ खेलाडी एमबाप्पेलाई इन्जुरीको कारण गुमाएको पीएसजीले यो जितसँगै ३५ खेलमा ७५ अंक जोडेको छ।

त्यस्तै ३५ खेलमा ७६ अंक सहित लिल लिगको शीर्ष स्थानमा कायमै छ। गए राती भएको खेलमा नीसलाई २-० गोलले पराजित गर्दै लिलले आफ्नो शीर्ष स्थान यथावत राखेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?