सिरी-ए : इन्टर मिलानको एउटा हात उपाधिमा

काठमाडौं।  सिरी-ए अन्तर्गत गए राती भएको खेलमा ‘लिग लिडर’ इन्टर मिलानले क्रोटोनेमाथि जित निकाल्दै उपाधि लगभग आफ्नो कब्जामा गरेको छ।

क्रोटोनेको घरेलु मैदानमा इन्टरले दोस्रो हाफमा २ गोल गर्दै उपाधि यात्राको गन्तव्य लगभग सुनिश्चित गरेको छ। खेलको ६९औं मिनेटमा क्रिसटियन एरिक्सनको गोलबाट अग्रता लिएको इन्टरले ८३औं मिनेटमा रोमेलु लुकाकुको प्रहारमा फेरि जाली चुमेको थियो। तर ‘भीएआरले’ लुकाकुको गोललाई अफसाइड भन्दै खारेज गरिदियो। खेलको इन्जुरी समयमा फुलब्याक हकीमीले गोल गर्दै इन्टरको जित बलियो बनाए।

गत वर्षको उप-विजेता इन्टरले पछिल्लो लिग उपाधि एक दशक पहिले २०१० मा उचालेको थियो। पछिल्लो पटक जोसे माउरिन्होको प्रशिक्षणमा सिरी-एको विजेता बनेको इन्टरले यो सिजन उत्कृष्ट प्रदर्शन गरेको छ।

इन्टरको ३४ खेलमा ८२ अंक छ भने दोस्रो स्थानमा रहेको एटलान्टाको ३३ खेलमा ६८ अंक छ। युभेन्टसको लगातार ९ वर्षको सिरी-ए उपाधिमा पूर्णविराम लगाउन इन्टरलाई ४ खेलमा मात्र २ अंकको खाँचो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?