काठमाडौं। ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलहरूमा एथ्लेटिको मड्रिड र रियल मड्रिड विजयी भएका छन्।
पहिलो खेलमा ‘रेलिगेसन जोनको’ टोली एल्चेलाई एथ्लेटिको मड्रिडले १-० गोलले पराजित गर्दै शीर्ष स्थान कायम राख्न सफल भएको छ। पहिलो हाफको २३औं मिनेटमा एथ्लेटिकोका मार्कोस लोरेन्टेले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो र एथ्लेटिकोले एल्चेको घरेलु मैदानमा लिगको २३औं जित निकाल्न सफल भयो।
त्यस्तै गए रातीनै भएको अर्को खेलमा रियल मड्रिडले ओसासुनामाथि २-० गोलको जित हासिल गरेको छ। शीर्ष स्थानमा रहेको एथ्लेटिकोलाई पछ्याउने क्रममा रियलले आफ्नो अस्थायी घरेलु मैदान ‘एलफ्रेडो डी स्टेफानोमा’ सो जित निकालेको हो।
दोस्रो हाफमा रियलका लागि दुई ब्राजिलियन खेलाडीले गोल गरे। ७६औं मिनेटमा डिफेन्डर एडेर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटपछि मिडफिल्डर कासेमिरोले रियलको अग्रता दोब्बर बनाए।
ला लिगाको उपाधि रेस रोमाञ्चक मोडमा पुगेको छ। एथ्लेटिको मड्रिड ३४ खेलमा ७६ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड ३४ खेलमा ७४ अंकसहित दोस्रो स्थानमा छ। त्यसैगरी बार्सिलोना ३३ खेलमा ७१ अंकसहित तेस्रो स्थानमा रहेको छ। ला लिगामा आउँदो साता बार्सिलोना र एथ्लेटिको मड्रिड प्रतिस्पर्धा गर्दै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया