काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेश गरेको उनीनिकट स्रोतले लोकपथलाई बतायो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले अविश्वासको प्रस्ताव दर्ता गराएकोमा आज सोही विषयमा छलफल हुन लागेको र अर्को सरकार निर्माणमा सहज होस भनेर पोखरेलले राजीनामा दिएको बताइएको छ ।
त्यसो त आजबाट शुरु हुने भनिएको लुम्बिनी प्रदेशको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको थियो ।
तर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अब अर्को सरकार गठनका विषयमा छलफल चलाइनेछ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै अहिले लुम्बिनी प्रदेश एमाले संसदीय दलको बैठक बसिरहेको छ ।
लुम्बिनी प्रदेशको दाङ २ (क) बाट निर्वाचन जितेका पोखरेल २०७४ फागुन ३ गते प्रदेशको मुख्यमन्त्री भएका थिए । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट सरकार निर्माण गरेपनि एमाले र माओवादी केन्द्र अलग अलग भएसँगै मुख्यमन्त्री पोखरेलको सरकार अल्पमतमा परेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका मुख्यमन्त्री पोखरेलको यो सरकार २०७४ मा निर्माण भएको प्रदेश सरकार मध्ये पहिलोपटक ढलेको हो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले आफ्नो सरकार टिकाउन जनता समाजवादी पार्टीका ४ सांसदहरुलाई मन्त्री समेत बनाएका थिए ।
गत पुस गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम पछि केन्द्रदेखि प्रदेशसम्मको राजनीतिमा फेरबदल आएको छ । ओलीको कदमलाई फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्याइदिएपछि एकाएक प्रदेश सरकार समेत अल्पमतमा परेका छन् । हालसम्म प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । यसैक्रममा कर्णाली प्रदेश सरकार भने विश्वासको मत लिएर आफूलाई सुरक्षित बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया